नागरिक उन्मुक्तिबाट उपसभामुखको पद लिन अस्वीकार, तीन नेतृको चर्चा सुरु
धनगढीः नागरिक उन्मुक्ति पार्टीले उपसभामुख पद लिन अस्वीकार गरेको छ। प्रदेश सरकारलाई समर्थन गरेको नागरिकले उपसभामुख पद लिन अस्वीकार गरेको हो।
सत्ता साझेदार दलहरुले सुदूरपश्चिमको मुख्यमन्त्री एमाले, सभामुख माओवादी र उपसभामुख नागरिक उन्मुक्तिको भागमा पारेका थिए। सत्तारुढ गठबन्धनको भागबण्डामा उपसभामुख पाएको नागरिक उन्मुक्ति त्यसमा आफ्नो उम्मेदवार नउठाउने भएको हो। आफूहरुको माग सम्बोधनका लागि कुनै पहल नभएकाले तत्काल आफूहरु सरकारमा नजाने र उपसभामुख पनि नलिने अवस्थामा रहेको नागरिक उन्मुक्तिका सुदूरपश्चिम प्रदेश सभा प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले बताए।
उनले माग सम्बोधन नभएकाले तत्काल सरकारमा जान असम्भव छ। २०७२ कोे टीकापुर घटनामा दोषी ठहर भएर नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका रेशम चौधरी हाल डिल्लीबजार कारागारमा आजीवन कैदी जीवन बिताइरहेका छन्। नागरिक उन्मुक्तिले रेशम चौधरी लगायत टीकापुर घटनाका कैदीबन्दीलाई रिहाइ गर्नु पर्ने माग गर्दै आएको छ। सुदूरपश्चिम प्रदेश सभाले मंगलबार सभामुख पाएको छ। नागरिक उन्मुक्तिको समर्थनले तेस्रो प्रयासमा माओवादी केन्द्रका भीमबहादुर भण्डारी सभामुख बनेका छन्।
अहिले सभामुख भण्डारीकै अध्यक्षतामा बसिरहेको सर्वदलीय बैठकले उपसभामुखको निर्वाचन कार्यसूची निकाल्ने तयारी गरेको छ। नागरिक उन्मुक्तिले उपसभामुख नलिए सत्ता पक्षले एमालेबाट उपभामुखका लागि उम्मेदवार बनाउने तयारी छ। नागरिक उन्मुक्तिले उपसभामुख नलिए एमालेकी जानकी बम ऐर, निर्मलादेवी साउद, कोइलीदेवी चौधरी र राप्रपाकी खेमादेवी बिष्टमध्ये एकलाई पर्ने देखिन्छ।