सुदूर नेपाललाई विश्वसँग जोड्दै

वजेट नसच्याए सरकार ढल्ने माधव नेपालको चेतावनी

२०८० जेठ २८, ०९:२९ खबर संवाददाता

काठमाडौँः  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनको सरकार ढल्ने आशय व्यक्त गरेका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सत्ता गठबन्धन ५ वर्षै चलाउनुपर्ने र त्यसका लागि प्रयास गर्ने भएपनि बजेट यथास्थितिमा पास भए सरकार ढल्ने बताएका हुन्। अध्यक्ष नेपालले बजेटमा सबैजना असन्तुष्ट रहेको उल्लेख गर्दै प्रधानमन्त्री र अर्थमन्त्रीको लचकता नदेखाए सरकार दुर्घटनामा जाने चेतावनी दिए।

उनले बजेट तीन जिल्ला (गोरखा, डडेलधुरा र नुवाकोट) केन्द्रित भएको बताउँदै आएका छन्। साथै पार्टीले पनि बजेट यथास्थितिमा पास गर्न नदिने अडान लिइरहेको छ। यद्यपी नेकपा एकीकृत समाजवादी दुई मन्त्रालयसहित सरकारमा सहभागी छ।

सत्तापक्षकै सांसदहरु बजेटमा असन्तुष्टि देखिनु र प्रतिपक्षले पनि बजेटप्रति राम्रो धारणा नबनाउनुले सत्ता गठबन्धनको सरकार टिक्ने वा ढल्ने भन्नेमा आम नागरिकमा आशंंका उत्पन्न भएको छ।
 

कमेन्ट लोड गर्नुस