गौरासँगै फर्किए गिरिराज (भिडियो सहित)
गौरा पर्व आउन अब एक साताको समय मात्रै बाँकी छ । गौराकै अवसरमा सुदूरपश्चिमका विभिन्न स्थानमा मेला, महोत्सवको आयोजना गर्ने तयारी पनि भैरहेको छ । गौरा आएसँगै कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ६ का गिरिराज वस्ती पनि गाउँबाट शहर फर्किएका छन् । अहिले शरह बजारमा रहेका एफएम रेडियो पुग्दै उनी गौराको संरक्षण र सम्वद्र्धनमा टेवा पु¥याइरहेका छन् । सुदूरपश्चिममा सञ्चारमाध्यम नहुँदा उनले विभिन्न जिल्लामा हुने कार्यक्रममा गौराका गीत गाए ।
जव सुदूरपश्चिममा पनि रेडियो खुल्ने क्रम सुरु भयो अनि वस्तीले पनि गौराका गीतहरु रेडियो मार्फत नै सुदूरपश्चिमेली समक्ष पु¥याउने निधो गरे । दिनेश एफएमको एकदशक लामो यात्रामा वस्ती बर्षको एक पटक एफएमको कार्यालय पुगेकै हुन्छन् । गौरा सुरु हुन एक, दुई साता अगाडी नै रेडियोमा पुगेर गौराको गीत रेकर्ड गराउँदै आएका वस्ती यसपाली पनि मंगलवार रेडियोमा पुगेका थिए ।
दिनेश एफएममा मात्रै होईन वस्ती गौराको बेला कैलाली र कञ्चनपुर जिल्लाका सवै एफएम रेडियोमा पुगेकै हुन्छन् । जोरायल सरस्वतीनगर जन्मघर भएका वस्तीले गौराका गीत संकलन गर्न र गाउन थालेको पनि ५० वर्ष पुगिसकेको छ । ६७ वर्षका वस्तीले गौराका गीत गाउन र संकलन गर्न भने १६ बर्षको उमेरदेखि नै सुरु गरिसकेका थिए । सुदूरपश्चिमको मौलीक पर्वको रुपमा रहेको गौराको पुस्तान्तरणमा देखिएको समस्याले भने वस्तीलाई पनि चिन्तित बनाएको छ ।
युवा पुस्तालाई फाग, माङ्गलका विषयमा चाँसो नै नहुँदा गौराको सम्वद्र्धनका लागि सक्रिय वस्तीलाई चिन्तित बनाएको हो । उनका अनुसार फाग एउटा गीत जस्तै हो तर त्यसले डोटेली संस्कृतीलाई बोकेको हुन्छ भने गाउने लय पनि भिन्न हुन्छ । तर पुस्तान्तरणको अभावका कारण फाग कतै एकादेशको कथा जस्तै बन्ने त होईन भन्ने चिन्ता उनमा छ । उनका अनुसार गौरा पर्वमा गाईने फागमा शिव र पार्वतीको वार्तालापलाई समेटिएको छ भने उनीहरु बीचको प्रेम पनि फागमा अटाएको छ । दिनेश खवरसँग कुराकानी गर्दै वस्तीले भने –‘गौराको प्रचार–प्रशार र संरक्षण गर्ने मेरो अभियान हो, हेरौं कहिले सम्म सकिन्छ ।’