ट्रेलरमा आयो ‘रोमियो एन्ड मुना’
आगामी ११ साउनबाट प्रदर्शनमा आउने भनिएको चलचित्र ‘रोमियो एन्ड मुना’को ट्रेलर सार्वजनिक गरिएको छ । अभिनेत्री श्रृष्टि श्रेष्ठ र अभिनेता विनय श्रेष्ठको रोमान्स रहेको यो सिनेमाको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो । सिनेमा हल र युट्युबबाट ट्रेलर रिलिज गरिएको निर्माण पक्षले जनाएको छ ।
ट्रेलरमा विनय र श्रृष्टिको रोमान्स र वियोगसँगै उनीहरूको भीएफएक्स राक्षसी रूप पनि प्रस्तुत गरिएको छ । ट्रेलरमा समेटिएको रोमान्स, प्रेम, वियोग र एक्सनले दर्शकमा कौतुहलता जगाउने विश्वास निर्माण पक्षको छ ।
ट्रेलरलाई दर्शकले मन पराएको निर्माता प्रशन्न गोपालीले बताए । चलचित्रको बाँकी एउटा गीतको छायांकन सकेर आफूहरू बिहीबार नै काठमाडौं फर्किएको पनि निर्माता गोपालीले बताए ।
विनय र श्रृष्टिसँगै सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्वल सुजल गिरीलगायतको अभिनय छ । नरेशकुमार केसीको निर्देशन रहेको चलचित्र रोमियो एन्ड मुनामा प्रशन्न गोपाली, राजी श्रेष्ठ, राम शर्मा र कविन शाक्य निर्माता रहेका छन् ।