निर्माण हुँदै चलचित्र मायांक
चलचित्र ‘मायांक’ निर्माण हुने भएको छ । प्रेमकथामा बन्ने यो चलचित्रलाई रोमी मानन्धरले निर्देशन गर्दै छिन् । घोषणासभामा चलचित्रका तीन मुख्य कलाकार प्रशान्त ताम्राकार, सुशील उप्रेती र ज्योत्सना योगीलाई प्रस्तुत गरियो । बाँकी एक मुख्य नायिकाको चयन बाँकी रहेको निर्देशक रोमीले बताइन् ।
रोमीले पहिलोपटक चलचित्र निर्देशन गर्न लागेकी हुन् । चलचित्रबारे बोल्दै उनले मिठो प्रेमकथामा चलचित्र बन्न लागेको बताइन् । यस चलचित्रमा अभिनय गर्न आफूले डेढ वर्षदेखि मेहनत गरिरहेको नवनायक सुशील उप्रेतीले बताए । उनले ओस्कार कलेजबाट अभिनयमा ब्याचलर गरेको पनि जानकारी गराए ।
प्रशान्त ताम्राकारले विगतका सिनेमामा भन्दा मायांकमा आफ्नो भूमिका फरक भएको जिकिर गरे । यसका निर्माता जितेन्द्र खतिवडा हुन् । भदौको पहिलो साताबाट छायांकन सुरु गरिने भनिएको यो चलचित्र माघमा रिलिज गर्ने पनि कार्यक्रममा बताइयो ।