सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरबाट उदाएका गजल पुनरजागरणका योद्धा ललिजन रावल

२०७५ असार २३, १२:५०

प्रदेश नम्वर ७ साहित्य श्रृजनाका लागि उर्वर भुमि मानिन्छ । यसै क्षेत्रका धेरै साहित्यकारले नेपाली साहित्य नगरीमा चर्चा पनि कमाईसकेका छन् । तिनै मध्येका एक हुन, नेपाली साहित्यको बढि रुचाईएको विधा, गजल पुनरजागरणका योद्धा समेत रहेका साहित्यकार ललिजन रावल । 

नखोलेरै राखिएको एउटा बन्द खाम थियो
भित्र के–के थियो कुन्नि बाहिर मेरै नाम थियो

कताबाट उजाडियो मनको सानो फूलबारी
भर्खरै त फूलहरुको यहाँ फुल्ने याम थियो

आज किन यहाँ केहि, केहि पनि देखिएन
हिजै मात्र सपना खोज्ने आँखाहरुको लाम थियो

सधै–सधै बग्ने खोली एकै छिन रोकीइदेउ
तिम्रो वेगसंग मलाई अलिकति काम थियो

मनमा दियो विश्वासको नबलेको जिन्दगीमा
धेरै–धेरै अन्धकार थोरै मात्र घाम थियो

अछामका कवि तथा गजलकार रावललाई नेपाली साहित्यको गजल लेखनमा यही ‘खाम’ ले चिनाएको हो । दुईसयभन्दा बढी गजल लेखेपनि आम दर्शक तथा श्रोताको बोलीको भाका भने यहि खाम भएको छ । कविता तथा कथा लेखनबाट साहित्यि यात्राको सुरुवात गरेपनि रावललाई धेरैले गजलकारका रूपमा चिन्छन् वा भनौं नेपाली साहित्यको इतिहासमा रावलको नाम गजलकै लागि लेखीएको छ । नेपाली साहित्यमा फराकिलो परिचय बनाईसकेका रावल सानोमा भने नेपाली भाषा पनि बोल्न जान्दैनथे, जन्मथलो अछाममा कक्षा चारसम्म अध्ययन गरेका रावल गाउँका प्रायः कमाउनका लागि मुम्बई जान्थे, रावल पनि आफ्ना परिवारसँग मुम्बई गए । मुम्बईमै अध्ययन अगाडी बढाउने क्रममा स्कुले जिवनको उत्तरार्धमा मात्रै रावलले साहित्य लेखनिमा पाईला टेके र काठमाडौ छिरेपछि कथा, कविता र गजल लेखनमा रावलको सक्रियता बढ्यो । 
१९ सय ९६ सालदेखी नेपालमा गजल लेखन बन्द भएपछि २०३६ सालमा गजलको पुनरजागरण गर्दा रावल केहि अन्य गजलकारसंगै सहयोद्धा बनेका थिए । गजलको पुनरजागरण पछि पहिलो कृती पनि रावलकै विरानो यो ठाँउमा प्रकाशन भएको थियो । उनलाई ‘ एउटा परदेशी आई सोध्यो मेरो नाउँ’ बोलको गीतले पनि थप उचाईमा पुगाएको थियो । कुनै बेला गजल, कविता र कथा लेखनमा सक्रिय रहेका रावलले झण्डै डेढ दशक यता भने गजल संग्रह प्रकाशन गरेका छैनन् । अहिले रेडियो नेपालमा उप निर्देशक रहेका रावलका कथा, कविता र गजलले जन्मभुमीको विषयलाई खासै उठान नगरेकाले रावलले जन्मभुमी प्रति खासै न्याय भने नगरेको पनि आरोप लाग्ने गरेको छ ।

 

तिमी कृष्ण हौ कि राम थाहै पाइएन

छाया असल हो कि घाम थाहै पाइएन

 

कहिले चक्काजाम हुन्छ, कहिले सडकजाम

कसले गर्छ यस्तो काम थाहै पाइएन

 

आफूसँग भाकै कुरा, अझै थप्नलाई

किन लाग्छ सधैँ लाम थाहै पाइएन

 

डोको–नाम्लो नबोक्दा नि, मेरो निधारमा

कसरी पो बस्यो डाम थाहै पाइएन

 

तर रावल भने जन्मथलो अछाम र सुदुरपश्चिम रचनामा खासै नसमेटीएपनि मानसपटलमा भने सधै रहि रहने बताउछन् । मोतीराम भट्टले सुरु गरेको गजल विधालाई परिष्कृत गर्दै अहिले आएर युवा माझ सबैभन्दा लोकप्रिय बिधा बनाउनमा अछामका रावलको भुमीका नकार्न सकिदैन् । गजल लेखनीमा अहिले पनि सक्रिय रहेका रावलले अझै कृतिहरु प्रकाशनको योजना बनाएका छन् । 
 

कमेन्ट लोड गर्नुस