‘झमक बहादुर’ टिमको फुटबल फिभर
रसियामा आयोजना भइरहेको ‘विश्वकप २०१८’ मा सहभागी देश र मनपर्ने खेलाडीको समर्थनमा जर्सी लगाएर कलाकारहरुले फोटोसुट गर्ने क्रम बढ्दो छ । कतिपय कलाकारले आफूले समर्थन गरेको टिमको जर्सी लगाएर फेसबुक, ट्विटर तथा इन्स्टाग्राममा तस्बिर अपलोड गरिरहेका छन्, आ–आफ्नो विचार सार्वजनिक गरिरहेका छन् ।
एक कलाकारले एक टिमको जर्सीमा फोटोसुट गर्नु नौलो अवश्य होइन तर एक फिल्मको पूरै टिमले जर्सीमा फोटोसुट गर्नु भनेको नौलो नै मान्नु पर्छ । साउन १८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘झमक बहादुर’ को पूरै युनिटले बिश्वकपमा सहभागी टिम ब्राजिल, अर्जेन्टिना र स्पेनको जर्सी लगाएर फोटोसुट गराएका छन् । बिश्वकपको माहोल तातेको बेला जर्सीको तस्बिरले फिल्म प्रचारमा सजिलो हुने देखेर पूरै टिमले फोटोसुट गरेको निर्देशक भोमन कटुवालले बताए ।
‘झमक बहादुर’ मा अनुपविक्रम शाही, यादव देवकोटा सरापे, राजु कमेडी, सुजता थापा, कल्याण अधिकारी, कोनिका घिमिरे, नियोन गुरुङ, कला राई, प्रविन श्रेष्ठ, सुस्मा तामाङ, जित वस्नेत लगायतका कलाकारको अभिनय रहेको छ भने बालकलाकारको रुपमा जेशिका घिमिरे, दिलिशा गुरुङ रहेका छन् । कोपिलाकुमारी डल्लाकोटी सह-निर्माता, राजु किरातको द्वन्द्व, भोमन कटुवालको पटकथा, कल्याण अधिकारीको कथा, रोजन भुजेलको सम्वाद, राजनरसूर्यरसलिनाको कोरियोग्राफी, अनिलकुमार महर्जनको सम्पादन रहेको फिल्ममा ओम सुनुवारको संगीत रहेको छ ।
नेपाली समाजको वास्तविक चित्र झुपडीमा बस्ने र महलमा बस्ने बीचको द्वन्द्वात्मक कमेडी फिल्म बताइएको ‘झमक बहादुर’ का निर्माता मिनकुमार तामाङ हुन् । यूवि फिल्मस् ग्यालरी, दियालो इन्टरनेन्मेन्टको प्रस्तुतिमा फिल्म निर्माण भएको छ ।