सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘नाईं नभन्नू ल ५’ को ट्रेलर सार्वजनिक

२०७५ असार २८, ०७:३६

 नेपालमा सबैभन्दा धेरै सिक्वेलको रेकर्ड राखेको फिल्म ‘नाईं नभन्नू ल’ को पाँचौं भागको अफिसियल ट्रेलर सार्वजनिक भएको छ । 
एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलर कलरफूल बनेको छ । बाल कलाकार अनुभव रेग्मी र नव-बाल कलाकार सेड्रिना शर्मासँगै अभिनेत्री स्वस्तिमा खड्का र नव-अभिनेता अभिषेक नेपालको प्रेमलाई ट्रेलरमा विशेष 'फोकस' गरिएको छ । 
 निरुता सिंह, प्रियंका कार्की, केकी अधिकारी, दीलिप रायमाझी लगायतका कलाकारहरु पनि ट्रेलरमा अटेका छन् । 
ट्रेलरमा प्रयोग गरिएका संवादहरु घतलाग्दा छन् । लोकेशन र खिचाई पनि उत्कृष्ट छ ।
 फिल्मलाई विकास आचार्य र सामीप्यराज तिमल्सेना मिलेर लेखेका हुन् भने फिल्मको छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन् । भदौ ८ गते रिलिज हुने फिल्ममा जयनन्द लामा, उत्तम केसी, बुद्धि तामाङलगायतका कलाकारको पनि अभिनय छ । 
 बसन्त सापकोटाको संगीत रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । निर्देशक विकास आचार्यले सदा झैं ‘नाईं नभन्नू ल ५’ पनि फेमली ड्रामा फिल्म रहेको बताए । 
 वान टाइम सिनेमाको ब्यानरमा बनेको फिल्मको निर्मातामा हरिबोल भण्डारी र गौरी जोशी छन् भने कार्यकारी निर्मातामा दिनेश पोखरेल, पुरुषोत्तम प्रधान  र विष्णुमणी दाहाल रहेका छन् । 
फिल्मका गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । बाल कलाकार अनुभव रेग्मी, इमोसनल स्टोरी अनि मीठो संगीत 'नाईँ नभन्नू ल' शृंखलाका विशेषता रहँदै आएका छन् । 
पाँचौं शृंखलामा पनि ती तीन कुरा नछुटेको निर्देशक आचार्य बताउँछन् । 
 उनी भन्छन्, 'यो शृंखला कथा वाचन र प्राविधिक हिसाबले पनि थप अब्बल बनेको छ । यो सिरिजमा फेमली ड्रामासँगै लभस्टोरीलाई उत्तिकै स्थान दिएका छौं ।' फिल्मले यसपाली इलाम र झापालाई कथाको पृष्ठिभूमि बनाइएको छ । 

कमेन्ट लोड गर्नुस