‘शिल्पा र छविराजको बिहे भइसक्यो’
अभिनेत्री रेखा थापाले आफ्नो पूर्व पति तथा निर्माता छविराज ओझाले अभिनेत्री शिल्पा पोखरेलसँग विवाह गरिसकेको रहस्यको पर्दाफास गरेकी छिन् । 'रमाइलो ६' अनलाइनको प्रथम वार्षिकोत्सवको अवसरमा प्रकाशित स्मारिकामा आफ्नो विचार लेख्दै उनले यो कुराको खुलासा गरेकी हुन् ।
उनले छविराज र शिल्पाको विवाह २ वर्ष अगाडि नै भएको समेत गोप्यता खोलेकी छन् । रेखाले डिभोर्स भएपनि आफ्नो नाम पटक-पटक छविराज ओझासँग जोड्दा 'इरिटेट' हुने गरेको लेखेकी छन् ।
उनी लेख्छिन्, 'कुनै समय मैले लगाउने सर्ट, स्कर्ट, छविराज ओझासँगको प्रेम, बैबाहिक सम्बन्ध र त्यसपछिको डिभोर्सले मिडियामा खुब स्थान पायो । पब्लिक फिगर भएकाले मेरो जीवनका गतिबिधिमा पाठक/दर्शकको चाख हुन्छ । तर, इरिटेट त्यहाँनेर लाग्छ, जब मलाई छविराज ओझासँग अहिले पनि जोडिन्छ, जबकि डिभोर्स भएर उहाँले शिल्पा पोखरेलसँग बिहे गरेको दुई वर्ष भइसक्यो ।'
छविराज ओझा र शिल्पा पोखरेलले विवाह गर्न लागेको खबर बारम्बार बाहिर आइरहँदा रेखाको यो खुलासाले सिनेवृतमा तरंग ल्याएको छ । उनले आफूमाथि मिडियाले विभेद गरेको भन्दै दुखेसो समेत पोेखेकी छन् ।
'जसले विवाह गरिसकेको उसलाई उसको बैबाहिक जीवनको बारेमा सोध्दा हुन्छ नी ? तर पटक-पटक ममाथि नै किन प्रहार गरिन्छ ?' रेखाले मिडियालाई प्रश्न छाडेकी छन् ।
के छविराज र शिल्पाको विवाह भइसकेकै हो त ? आखिर हो भने किन लुकाइयो ? पूर्व पत्नीको यो खुलासामा छविराजको प्रतिक्रिया अब सबैका लागि चासोको विषय रहनेछ ।