सुरक्षामा खटिएका प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला
काठमाडौँः नयाँ बानेश्वरस्थित संघीय संसद् सचिवालयको सुरक्षामा खटिएका प्रहरी जवान मृत भेटिएका छन्।
बुधबार बिहान उनी संसद् भवनको शौचालयमा गोली लागेको अवस्थामा मृत भेटिएका हुन्। संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार दोलखा घर भएका प्रहरी जवान अजित गोलेले आफैंले गोली हानी आत्महत्या गरेका हुन्। केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीका अनुसार संसद् भवनको दुई नम्बर गेटको नजिकै रहेको शौचालयमा प्रहरी जवान गोले मृत अवस्थामा भेटिएका हुन्।
उनका अनुसार संसद् भवनको दुई नम्बर गेटनजिकै शौचालयमा प्रहरी जवान अजित गोले मृत भेटिएका हुन्। गोली पड्केको आवाज सुनिएको त्यहाँ कार्यरत अन्य सुरक्षाकर्मीले बताएका छन्। घटनास्थलमै उनको मृत्यु भएको भेटिएको छ। गोलेले आफैंले गोली हानी आत्महत्या गरेको ुघटनाक्रमुले देखाएको पनि डीआईजी कार्कीले बताए। गोलेको निधारमा गोली लागेको छ।