सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्ववियु निर्वाचनः अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता

२०८१ फाल्गुन २८, १०:१९ खबर संवाददाता

काठमाडौंः स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि मंगलवार अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता गरिएको छ। 

त्रिभुवन विश्वविद्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले अधिकांश आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा मंगलवार विभिन्न विद्यार्थी सङ्गठनले निर्वाचनका लागि प्रत्यक्ष तथा सामानुपातिकतर्फका उम्मेदवारको मनोनयन दर्ता गराएको जानकारी दिए। उनका अनुसार मंगलवार विहान ११ देखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गरिएको थियो। 

काठमाडौँ उपत्यकाका शङ्करदेव, विश्वभाषा, नेपाल ल, पब्लिक युथ, ग्रामीण आदर्श बहुमुखी, पिपुल्स, पद्यकन्या बहुमुखी क्याम्पसमा भने विवादका कारणले मनोनयन दर्ता नभएको उनले बताए। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)का उपाध्यक्ष नारायण घर्तीले आफ्नो सङ्गठनले अधिकांश क्याम्पसमा मनोनयन दर्ता गराएको जानकारी दिए। नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)का प्रवक्ता सुरज सेजुवालले पनि ठूला क्याम्पससहित देशभरि नै उत्साहपूर्वक उम्मेदवारी मनोनयन दर्ता गरेको बताए।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का महासचिव रोशन मगरका अनुसार सङ्गठनले अधिकांश क्याम्पसमा मंगलवार उम्मेदवारी दर्ता गराएको बताए। त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको प्रचारप्रसारका लागि यही फागुन २९ गते दिनको २ बजेदेखि चैत २ गते राति १२ बजेसम्मका लागि समय तोकेको छ। निर्वाचन आगामी चैत ५ गते हुँदैछ।

कमेन्ट लोड गर्नुस