जेनजी सहिदको स्मृतिमा झापामा म्याराथन
झापा : जेनजी आन्दोलनका सहिदहरुको स्मृतिमा युथ फर सोसाइटीले आयोजना गरेको ‘मेचीनगर रन २०८२’ मा पुरुषतर्फ दमकका २३ वर्षीय शरद सिंह र महिलातर्फ दमककी पुष्पा लिम्बु प्रथम भएका छन्।
प्रतियोगितामा पुरुषतर्फ दोस्रो विर्तामोडका १६ वर्षीय शिव कार्की र तेस्रो दमकका मिङसेन लिम्बू हुनुभएको छ। साथै महिलातर्फ दमककी मन्दिरा महतरा दोस्रो र दमककै रुबिना महतरा तेस्रो भए।
प्रतियोगितामा पहिलो हुनेलाई पाँच हजार, द्वितीयलाई तीन हजार र तृतीय हुनेलाई दुई हजारका दरले पुरस्कार प्रदान गरिएको थियो। मेचीनगर नगरपालिकाको वडा नं १५ ज्यामिरगढीबाट सुरु भएको दौड धुलाबारीमा पुगेर समापन भएको थियो।
प्रतियोगितामा झापाका विभिन्न स्थानबाट आएका १६४ जना युवा धावकहरु सहभागी रहेको आयोजक युथ फर सोसाइटीका सदस्य जयराम दाहालले बताए। जसमा १५६ जना पुरुष र १८ जना महिला सहभागी रहेका थिए।
सोसाइटीले जेनजी आन्दोलनमा झापाबाट सहिद हुनुभएको दिनेश राजवंशी र गोपाल सेढाइको परिवारलाई ५० हजारका दरले सहयोग उपलब्ध गराउने जनाएको छ। दौड प्रतियोगिताको समापन कार्यक्रममा सहिद दिनेश राजवंशीकी आमा सपना राजवंशीलाई ५० हजार सहयोग हस्तान्तरण गरिएको थियो।
धुलावारीस्थित इस्ट होराइजन अंग्रेजी माविका प्रिन्सिपल सञ्जीव राईले जेनजी आन्दोलनमा झापाबाट शहादत प्राप्त गर्नुहुनेका छोराछोरीलाई कक्षा १२ सम्म अध्ययनमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने सोही कार्यक्रममा प्रतिबद्धता व्यक्त गरे।