मन्त्री घिसिङद्वारा झापाका बाढी प्रभावित क्षेत्रको अवलोकन
झापाः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले झापाका बाढी प्रभावित क्षेत्रको बिहान अवलोकन गर्नुभएको छ। उनले कनकाई नदी र विरिङ नदीले क्षति पु¥याएको अर्जुनधारा नगरपालिका र झापा गाउँपालिकाका पुल तथा बस्तीको आज अवलोकन गर्नुभएको हो।
बाढीपहिरो प्रभावित क्षेत्र इलामका विभिन्न स्थानको अवलोकन गरेर फर्कने क्रममा मन्त्री घिसिङले अर्जुनधारा नगरपालिकाको बुट्टाबारीबाट सालबारी हुँदै चियापानीबाट कालिस्थान जोड्ने सडक र मङ्गलमडी मार्गको स्थलगत अवलोकन गर्नुभएको छ।
मन्त्री घिसिङले झापा गाउँपालिकास्थित हुलाकी सडकखण्डअन्तर्गतको कनकाईमाई खोलामा बन्दै गरेको पुल र वर्षाका कारण दबिएको सानोमाईको पुल र आसपासका क्षेत्रको अवलोकन गर्नुभएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाइँले जानकारी दिए। सोही क्रममा उनले झापा गाउँपालिका–२ का बाढी प्रभावित बासिन्दासँग सङ्क्षिप्त अन्तरक्रिया गर्नुभएको थियो।