सुदूर नेपाललाई विश्वसँग जोड्दै

उदयदेव-पाटन प्रिमियर लिगः हिमचुली सेमिफाइनलमा

२०८२ असोज २७, ०२:४३ खबर संवाददाता

बैतडी : बैतडीको पाटनमा जारी पाँचौ संस्करणको उदयदेव–पाटन प्रिमियर लिग (युपिपिएल) प्रतियोगितामा हिमचुली युवा क्लब सेमिफाइनल पुगेको छ।

खेलमा हिमचुलीले केदार शक्ति क्रिकेट टिमलाई नौ रनले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो।

जितका लागि पाएको १२२ रनको लक्ष्य पछ्याएको केदारशक्तीले निर्धारित १५ ओभरमा नौ विकेटको क्षतिमा ११२ रन मात्रै बनाउन सक्यो। उसका लागि यशकुमार कठायतले ३२ र किरण धामीले ३१ रनको योगदान गरेपनि टोलीलाई जिताउन सकेनन्। हिमचुलीका ऋषिकेश बोहरा र प्रकाश विष्टले २/२ विकेट चट्काए।

यसअघि श्रीकृष्ण माविको खेलमैदानमा पहिला ब्याटिङ गरेको हिमचुलीले ९ विकेटको क्षतिमा १२१ रन जोड्यो। उसका लागि ऋषिकेश बोहराले ३६, सन्तोष साउदले ३२ र राजेन्द्र बोहराले अविजित २७ रन बनाए।

केदारशक्तिका सन्तोष पाण्डेयले तीन, किरण धामीले दुई विकेट हात पारे। अलराउन्डर प्रदर्शनमार्फत हिमचुलीलाई जिताएका ऋषिकेश बोहरा प्लेयर अफ द म्याच चुनिएको स्कोरर दीपेन्द्रबहादुर बोहराले बताए।

पाटन एकता समाजको आयोजनामा यही असोज २५ देखि सुरू भएको प्रतियोगितामा १३ टोली सहभागी छन्। पाटन नगरपालिका प्रायोजक रहेको प्रतियोगिताको विजेताले रु एक लाख लाख ३५ हजार ७९१ र उपविजेताले ५६ हजार ७८९ पाउनेछ। साथै प्लेयर अफ द सिरिजलाई १२ हजार ३४५, उत्कृष्ट ब्याटर र बलरलाई जनही ५ हजार ६७८ दिइनेछ।

 

कमेन्ट लोड गर्नुस