एनपिएलः सुदूरपश्चिम रोयल्सको लगातार चौथो जित
काठमाडौँ: राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको आजको खेलमा जित हासिल गरेसँगै साविक उपविजेता सुदूरपश्चिम रोयल्स प्लेअफ नजिक पुगेको छ। सुदूरपश्चिमले लुम्बिनी लायन्समाथि सात विकेटको जित निकाल्दै लगातार चौथो जित दर्ता गराएको हो।
लुम्बिनीद्वारा जितका लागि पाएको १४४ रनको लक्ष्य सुदूरपश्चिमले १८ दशमलव दुई ओभरमा तीन विकेटको क्षतिमा पूरा ग¥यो। आजको खेलमा सुदूरपश्चिमका ओपनर ब्याटर विनोद भण्डारीले अर्धशतकीय पारी खेल्दै अविजित ६९ र आरिफ शेखले ३७ रन जोडे। सुदूरपश्चिमले ३९ रन जोड्दा दुई विकेट गुमाउँदा विनोद र शेखले ९९ रनको साझेदारी गर्दै जित दिलाएका हुन्। विनोद प्लेयर अफ द म्याचसमेत चुनिएका छन्।
यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले १९ दशमलव चार ओभरमा १४३ रनमा अलआउट भयो। जसमा कप्तान रोहित पौडेलले सर्वाधिक ३५ र दिलिप नाथले ३१ रनको योगदान गरे। बलिङतर्फ सुदूरपश्चिमका अभिनाश बोहराले तीन, हर्मित सिंहले तीन, हेमन्त धामीले दुई विकेट झारे।
दिपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम लगातार चौथो जित निकालेर आठ अङ्कका साथ शीर्ष स्थानमा छ। रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनीले भने चारमध्ये एक खेल मात्रै जितेको छ। दुई अङ्क जोडेको लुम्बिनी अङ्क तालिकाको छैटौँ स्थानमा छ। प्लेअफमा पुग्न बाँकी रहेका तीन खेल जित्नैपर्ने दबाब लुम्बिनीलाई बढेको छ।