सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेस बैतडीले प्रतिनिधि सभा उम्मेदवार सिफारिशमा मतदान

२०८२ मंसिर २१, ०१:३० खबर संवाददाता

बैतडी: नेपाली कांग्रेस बैतडीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिश गर्न मतदान गरेको छ। शनिबार जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि तथा प्रदेश प्रतिनिधिहरूको संयुक्त बैठकमा सहमति जुट्न नसकेपछि मतदान प्रक्रियाबाट उम्मेदवार टुंगो लगाइएको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले जानकारी दिए।

केन्द्रीय कार्यसमितिको परिपत्रअनुसार एक निर्वाचन क्षेत्रबाट एक महिलासहित तीनजनाको नाम सिफारिश गर्नुपर्ने व्यवस्था भए पनि सहमति नजुटेपछि मतदानमार्फत नाम छनोट गरिएको सचिव जोशीले बताए।

मतदान प्रक्रियाबाट जिल्ला सभापति चतुरबहादुर चन्द र नेता विष्णुदत्त जोशीको नाम सिफारिश भएको छ। ८२ सदस्यको उपस्थिती रहेको बैठकमा ७३ जनाले मतदान गरेका थिए। सभापति चन्दले सबै ७३ मत प्राप्त गरेका छन् भने विष्णुदत्त जोशीले ४५ मत ल्याएका छन्। अन्य आकांक्षीमध्ये उत्तरबहादुर ऐरले ६, बिरबहादुर बिष्टले ४, तेजबहादुर चन्दले ३ र नरबहादुर चन्दले शून्य मत पाएका छन्।

महिला तर्फ भने एकल आकांक्षी जानकी भट्ट रहेकाले उनको नाम सिफारिश गर्ने निर्णय बैठकले गरेको छ।

समानुपातिक तर्फ एक जनाको नाम सिफारिश गर्नुपर्नेमा देवु ठगुन्ना र कान्ता चन्द आकांक्षी बनेपछि पुनः मतदान गरिएको थियो। उक्त मतदानमा कान्ता चन्दले ४५ मत र देवु ठगुन्नाले २५ मत पाएपछि समानुपातिकतर्फ कान्ता चन्दको नाम सिफारिश गरिएको सचिव जोशीले बताए।

यस्तै राष्ट्रिय सभा सदस्यका लागि पनि तीनजनाको नाम सिफारिश गर्ने निर्णय भएको छ। जसअनुसार सुदूरपश्चिम प्रदेश समितिका उपसभापति लोकराज अवस्थी, पूर्व महाधिवेशन प्रतिनिधि सुरेन्द्रबहादुर चन्द र नेता प्रताप ठगुन्नाको नाम सिफारिश गरिनेछ।

तर मतदान प्रक्रियाको विरोध गर्दै आकांक्षी नेताहरूले विज्ञप्ति जारी गरेका छन्। सहमतिका धेरै सम्भावना हुँदाहुँदै मतदान प्रक्रियामा जानु पार्टीहित विपरीत रहेको उनीहरूको भनाइ छ। बिरबहादुर बिष्ट, उत्तरबहादुर ऐर, तेजबहादुर चन्द, नरबहादुर चन्द र नन्दराज भट्टले संयुक्त विज्ञप्ति जारी गर्दै सहमतिको आधारमै नाम टुंगो लगाउन आग्रह गरेका छन्।

उम्मेदवार आकांक्षी तथा उपसभापति बिरबहादुर बिष्टले सहमतिबाट समाधान खोज्ने प्रयास भइरहेकै बेला एकाएक मतदान प्रक्रियामा लैजान खोजिएपछि आफूहरूले मतदान बहिष्कार गरेको बताए। सहमतिलाई नकार्ने प्रवृत्तिले पार्टीलाई हानि पुग्ने दाबी उनले गरेका छन्।
 

कमेन्ट लोड गर्नुस