स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र राजिस्टारका लागि सिफारिस नाम किन गोप्य राखियो?
धनगढीः सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको गोदावरी-५ मा स्थापना हुन लागेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको पहिलो उपकुलपति र रजिष्ट्रार नियुक्तिका लागि नाम सिफारिस गरिएको छ। उपकुलपति तथा रजिष्ट्रार छनोट तथा सिफारिस समितिले उपकुलपतिका लागि एक जना र रजिष्ट्रारका लागि तीन जनाको नाम सिफारिस गरेको हो।
समितिका संयोजक प्राध्यापक डाक्टर जयराज अवस्थीका अनुसार सिफारिस गरिएका नाम सहकुलपति तथा शिक्षामन्त्री महावीर पुनसमक्ष पेस गरिएको छ। उनका अनुसार उपकुलपतिका लागि दुई जनाको आवेदन परेकोमा एक जनाको आवेदन प्रक्रिया अपूरो रहेकाले अस्वीकृत गरिएको थियो। त्यसपछि प्रक्रिया पूरा गरेका एक जनाको मात्रै नाम सिफारिस गरिएको उनले जानकारी दिए।
रजिष्ट्रार पदका लागि भने कुल १० जनाले आवेदन दिएका थिए। तीमध्ये सात जनालाई सर्टलिस्ट गरी अन्तर्वार्तामा सहभागी गराइएको थियो। अन्तर्वार्तापछि तीन जनाको नाम सिफारिस गरिएको समितिले जनाएको छ। सिफारिस सूचीबाट विश्वविद्यालय ऐनअनुसार सभा बैठक बसेर एक जनालाई रजिष्ट्रारमा नियुक्त गरिनेछ। हाल सिफारिसमा परेकाहरूको नाम सार्वजनिक गरिएको छैन।
उपकुलपतिका लागि पर्याप्त आवेदन नपरेपछि समितिले तीन पटकसम्म सूचना जारी गरेर दरखास्त आह्वान गरेको थियो। पहिलो पटक कात्तिक १६ गते र दोस्रो पटक कात्तिक ३० गते आवेदन आह्वान गर्दा कुनै पनि दरखास्त नपरेपछि मंसिर २३ गते पुनः सूचना जारी गर्दै मंसिर २८ गतेसम्मका लागि समय थप गरिएको थियो। यसबीच शिक्षामन्त्री पुनले समेत सामाजिक सञ्जालमार्फत इच्छुक व्यक्तिहरूलाई आवेदन दिन आह्वान गरेका थिए।
रजिष्ट्रारतर्फ सर्टलिस्टमा पर्नेहरूमा कञ्चनपुरका खेमराज जोशी र डमरुप्रसाद पनेरु, बैतडीका गोविन्दसिंह विष्ट र भीमबहादुर चन्द, बझाङका डबलबहादुर धामी तथा कैलालीका पदमराज जोशी र शिवप्रसाद सापकोटा रहेका थिए। तीमध्ये तीन जनाको नाम अन्तिम सिफारिसमा परेको हो।
सिफारिस नाम सार्वजनिक किन गरिएन?
छनोट समितिका संयोजक प्राध्यापक डाक्टर जयराज अवस्थीले उपकुलपति र रजिस्टारका लागि सिफारिस भएका नाम सार्वजनिक गर्न नमिल्ने बताए। उनले समितिले छनोट गरेको चार जना उम्मेदवारको नाम खामबन्दी गरेर लाहाछाप लगाएर विश्वविद्यालयका सहकुलपति एवं शिक्षा मन्त्री महाविर पुनलाई बुझाएको बताए। छनोटको मूल्य र मान्यताअनुसार सिफारिस भएका नाम सार्वजनिक गर्न नमिल्ने प्राध्यापक अवस्थीले बताएका छन्।
'हामीले एक जना उपकुलपति र तीन जना रजिस्टारका लागि छनोट भएका नाम खामभित्र हालेर लाहाछाप लगाएर शिक्षामन्त्रीलाई बुझाएका छौँ। ती नामहरू अहिल्यै सार्वजनिक गर्न मिल्दैन,' उनले भने, 'मन्त्री जीलाई पनि सिफारिस भएका नामबारे थाहा छैन। उहाँले उक्त खाम विश्वविद्यालय सभामा पेस गर्ने र सभामै खोलेपछि मात्रै थाहा हुन्छ।'
छनोट समितिका संयोजक अवस्थीले आगमी आइतवारसम्म विश्वविद्यालयको सभा बस्ने बताएका छन्। उक्त सभाले नै उपकुलपति र रजिस्टारको नियुक्तिका लागि विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्रीलाई सिफारिस गर्नेछ। विश्वविद्यालय सभाले सिफारिस गरेको उम्मेदवारलाई प्रधानमन्त्रीले क्रमशः उपकुलपति र रजिस्टार नियुक्त गर्नेछन्।
उपकुलपति र रजिस्टारको छनोट तथा नियुक्ति पारदर्शी र निस्पक्ष होस् भनेर छनोट समितिले सिफारिस नाम गोप्य राखिएको हो। सिफारिस भएका नाम एकैपटक विश्वविद्यालय सभामा खोलिने र सभाबाटै उपकुलपति र रजिस्टार नियुक्तिको टुङ्गो लाग्नेछ।