डडेलधुरा अस्पतालमा आकस्मिकबाहेक सबै सेवा ठप्प
डडेलधुरा: डडेलधुरा अस्पताल विकास समितिका अध्यक्ष करूणाकर ओझामाथि कार्यकक्षमै दुर्व्यवहार भएको घटनाको विरोधमा आज बिहीबार देखि आकस्मिक सेवाबाहेक अस्पतालका सम्पूर्ण सेवाहरू बन्द गरिने भएको छ।
नेकपा बहुमत को नाममा आएका व्यक्तिहरूले विभिन्न आरोप लगाउँदै बुधबार ओझामाथि कालोमसो दलेका थिए।
घटनाप्रति आपत्ति जनाउँदै अस्पताल विकास समितिले बुधबार प्रेस विज्ञप्ति जारी गरी कर्मचारीको मनोबल कमजोर बनाउने कार्य अस्वीकार्य भएको जनाएको छ। दोषीलाई तत्काल कानुनी दायरामा नल्याइएसम्म तथा घटनाले गिराएको कर्मचारीको मनोबललाई मध्यनजर गर्दै बिहीबारदेखि आकस्मिक सेवाबाहेक सबै सेवा पूर्णरूपमा बन्द गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।