आपूर्ति व्यवस्थामा कडाइ गर्ने सुदूरपश्चिम सरकारको निर्णय, कालोबजारीमा संलग्नलाई कडा कारबाही चेतावनी
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले पेट्रोलियम पदार्थ तथा अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थालाई व्यवस्थित बनाउन नियमनमा कडाइ गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले सहज आपूर्ति सुनिश्चित गर्न यस्तो निर्णय लिएको हो। हाल बजारमा आपूर्ति असहज नभएको भन्दै प्रदेश सरकारले सर्वसाधारणलाई विचलित नहुन आग्रह गरेको छ।
तर, अस्थायी राजधानी धनगढीसहित प्रदेशका मुख्य बजारहरूमा खाना पकाउने ग्यासको अभाव देखिएको छ। उपभोक्ताहरूले व्यापारीहरूले मनपरी रूपमा मूल्य बढाएर बिक्री गरिरहेको गुनासो गरेका छन्।
बैठकले डिजेल, पेट्रोल, खाना पकाउने ग्यास लगायत अत्यावश्यक वस्तुको आपूर्ति, मूल्य, गुणस्तर र शुद्धतामा कडाइका साथ अनुगमन गर्ने निर्णय गरेको छ। साथै, बजार अनुगमनलाई थप प्रभावकारी बनाउँदै कालोबजारी, कृत्रिम अभाव र बढी मूल्यमा बिक्री गर्ने गतिविधि नियन्त्रण गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।
निर्णयमा भनिएको छ कि कसैले पनि पेट्रोलियम पदार्थ वा अन्य अत्यावश्यक वस्तु लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने वा अत्यधिक मूल्यमा बिक्री गर्ने कार्य गरेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिनेछ।
यससँगै ग्यास र पेट्रोलियम पदार्थको मितव्ययी प्रयोग, खपत घटाउने उपाय, सहज आपूर्ति र वैकल्पिक ऊर्जाको प्रयोगबारे जनचेतना फैलाउने निर्णय पनि गरिएको छ। बैठकमा विभिन्न सरकारी अधिकारी, सुरक्षा निकायका प्रतिनिधि तथा उद्योग–व्यवसायसँग सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो।