सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्वमन्त्री खड्काले तिरेका छैनन् स्काउटलाई करिब साढे पाँच करोड भाडा 

२०८२ चैत्र १५, १२:४७ खबर संवाददाता

धनगढीः सम्पत्ति शुद्धीकरणको कसुरमा आइतवार पक्राउ परेका काँग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का लैनचौरस्थित स्काउटका जग्गा विवादमा समेत मुछिएका छन्।

नेता खड्काले नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको लैनचौरस्थित जग्गा भाडामा लिएर प्रयोग गर्दै आएको तर भाडा नतिरेको भनेर विवादमा परेका थिए।

नेपाल स्काउटले खड्काले नेपाल स्काउटको स्वामित्वमा रहेको जग्गा जमिन हडपेको भन्दै त्यो खाली गराउन र ५ करोड ४१ लाख रुपैयाँ भाडा उठाइदिन भन्दै राज्य व्यवस्था तथा सुशासन समितिसँग सहयोग माग गरेको थियो ।

गत २० कात्तिकमा स्काउटले सूचना जारी गरेर भाडा चुक्ता गर्न सात दिनको म्याद दिएको थियो। उक्त म्याद सकिएकै दिन काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहको निर्देशनमा महानगरपालिकाले डोजर चलाएर त्यहाँका संरचना भत्काएको थियो।

दीपक खड्का २०७९ सालमा संखुवासभाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। २०८० सालमा नेपाली काँग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले खड्कालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरेका थिए।
खड्का निर्माण व्यवसायीसमेत हुन्। उनको हस्पिटालिटी क्षेत्रमा पनि लगानी रहेको उनका निकटले बताउने गरेका छन्।

कमेन्ट लोड गर्नुस