मुख्य न्यायाधिवक्ताहरूको राष्ट्रिय सम्मेलन धनगढीमा सुरु
सुदूरपश्चिम: ‘समन्वय, सहकार्य र कानुनको प्रभावकारी कार्यान्वयन–सबल मुख्य न्यायधिवक्ता, सुदृढ सङ्घीय शासन’ भन्ने नाराका साथ मुख्य न्यायाधिवक्ताहरूको सातौँ राष्ट्रिय सम्मेलन आज धनगढीमा सुरु भएको छ।
दुईदिने सम्मेलनमा नेपाल सरकारका मुख्यन्यायाधिवक्ता, प्रदेश सरकारका मुख्य न्यायाधिवक्ताहरू, वरिष्ठ अधिवक्ताहरू सहभागी छन्। संविधान संशोधन र संविधानका अधिकार सूचीलगायत विषयमा कार्यपत्र पेस गरी छलफल बहस गर्न लागिएको छ।
यसैगरी, सङ्घीय व्यवस्थालाई थप सुदृढ बनाउनका लागि कानुनी सबलीकरणका बारेमा छलफल हुन लागेको छ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सम्मेलनको उद्घाटन गर्दै बनेका ऐन, कानुनको आ–आफ्नो ढङ्गले व्याख्या गर्ने प्रवृत्तिले देखिने जटिलता र अन्योलता हटाउने गरी सम्मेलनमा बहस हुनुपर्ने बताए। उनले भने, “ऐन कानुन बनाउने, त्यसलाई कार्यान्वयनमा लैजाने र कार्यान्वयनमा जाँदा प्रभावित हुनेहरू गरी तीन तहबीच बेलाबखत देखिने गरेका अन्योलता र जटिलता हटाउनका लागि पहल गर्न जरुरी छ।”
महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले राज्यका संरचनालाई बलियो र प्रभावकारी बनाउन जरुरी रहेको बताए।
कार्यक्रममा नायब महान्यायाधिवक्ता उद्धव पुडासैन, सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता ठेकेन्द्रराज जोशी, पूर्वमुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्याय, वरिष्ठ अधिवक्ता पदमराज शर्मा, भेषबहादुर गुरुङलगायत वक्ताले सम्मेलनका बारेमा धारणा व्यक्त गरेका थिए।