डडेल्धुराका दुई बेपत्ता व्यक्तिको शव फरक–फरक स्थानमा फेला
अमरगढी (डडेल्धुरा): डडेल्धुराको परशुराम नगरपालिका–५ बाट गत शुक्रबारदेखि बेपत्ता सशस्त्र प्रहरी बलका जवान ओमप्रकाश पुन मगर र स्थानीय तीर्थबहादुर थापा मगर मृत अवस्थामा आज फेला परेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख वरुणबहादुर सिंहका अनुसार ५६ वर्षीय थापाको शव परशुराम नगरपालिका–५ अन्तर्गत महाकाली नदीको कल्पठ्ठे क्षेत्रमा फेला परेको हो। यस्तै, सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) परिगाउँमा कार्यरत जवान पुन मगरको शव कञ्चनपुरको ब्रह्मदेवस्थित महाकाली नदी किनारमा भेटिएको हो।
मामाभान्जा नाता पर्ने दुवै जना बेपत्ता भएपछि महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेलापरेको थियो। सोही आधारमा नदीमा बगेको हुनसक्ने आशङ्कासहित खोजी अभियान सञ्चालन गरिएको थियो।
त्यसक्रममा थापाको शव कल्पठ्ठे नजिक महाकाली नदीमा तैरिरहेको अवस्थामा फेला परेको हो भने जवान पुन मगरको शव नदीले बगाएर कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा पुर्याएको प्रारम्भिक अनुमान गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।