डडेल्धुराकाे भागेश्वरमा सडक, खानेपानी र सिँचाइको समस्या उस्तै
डडेलधुराः बैतडीको पश्चिमतर्फ महाकाली नदी किनारसम्म फैलिएको भागेश्वर गाउँपालिकाका विकट बस्ती विकासको पर्खाइमा छन् ।
भागेश्वर गाउँपालिका–१ अन्तर्गत पर्ने सुकाली खेत, ठुला खेत, सम्निया र कान्डे जस्ता विकट बस्तीका बासिन्दाले बर्सौंदेखि आधारभूत सेवाको अभाव झेल्दै आएका छन् । गाउँपालिकाको प्रशासनिक सीमाभित्र परे पनि यी बस्ती सडक, खानेपानी, स्वास्थ्य, शिक्षा तथा सिँचाइ जस्ता अत्यावश्यक पूर्वाधारबाट अझै वञ्चित छन् ।
स्थानीयको मुख्य पेसा कृषि हो । उब्जाउ जमिन र अनुकूल हावापानीका कारण यहाँ प्रशस्त मात्रामा धान उत्पादन हुन्छ तर व्यवस्थित सिँचाइ प्रणाली नहुँदा किसान वर्षाकै भरमा खेती गर्न बाध्य छन् ।
पक्की सिँचाइ कुलो निर्माण गरेर उत्पादन बढाउन सके स्थानीयको आयआर्जनमा उल्लेखनीय सुधार आउने किसानको विश्वास छ । यातायात पहुँचको अभावले स्थानीयको दैनिकी थप कष्टकर बनेको छ । बिरामी पर्दा डोको वा स्ट्रेचरमा बोकेर दुई÷तीन घण्टा पैदल हिँडेर लिमको डाँडासम्म पु¥याउनुपर्ने अवस्था छ ।
स्थानीय लोकेन्द्र ठकुराठीले लिमबाट मात्र सवारीसाधनको सुविधा उपलब्ध हुन्छ । बर्खायाममा सडक अवरुद्ध हुँदा बिरामीलाई थप तीन÷चार घण्टा पैदल हिँडाएर रुपालसम्म लैजानुपर्ने बाध्यता रहेको बताए। लिमको डाँडाभन्दा अगाडि सडक विस्तारको काम सुरु भएको बर्सौं बितिसक्दा पनि निर्माणले गति लिन सकेको छैन ।
दुई/तीन वर्षदेखि सडकको अवस्था जस्ताको त्यस्तै रहेको उहाँको गुनासो छ । सडक नहुँदा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न कठिन भएको छ भने किसानले उत्पादन गरेका अन्नबाली बजारसम्म पु¥याउन पनि समस्या भइरहेको छ ।