सुदूर नेपाललाई विश्वसँग जोड्दै

अनुमतिबिना भारतीय हेलिकोप्टर नेपाली आकाशमा

एआई प्रविधि प्रयोग गरी निर्मित तस्विर
एआई प्रविधि प्रयोग गरी निर्मित तस्विर
२०८३ असार १, ०७:२३ खबर संवाददाता

धनगढी: इन्डो टिबटिबटियन बोर्डर पुलिस (आईटीबीपी) का महानिर्देशक सवार हेलिकोप्टर नेपाली अनुमतिबिना नेपालको आकाशमा प्रवेश गरेको पाइएको छ। 

आइटीबीपीका महानिर्देशक सत्रुजिजित कपुर कालापानी क्षेत्रको गुञ्जीस्थित युनिट निरीक्षणमा जाने क्रममा भारतीय हेलिकोप्टर नेपाली आकाश प्रयोग गर्दै उडेको पाइएको हो। कुनै पनि देशको अनुमतिबिना अर्को देशको विमान वा हेलिकोप्टर प्रवेश गर्नुलाई अन्तर्राष्ट्रिय कानुनअनुसार एयर स्पेस भ्वाइलेसन’ हवाई क्षेत्र उल्लंघन मानिन्छ । गत मंगलबार दार्चुलाको आकाशमा उक्त हेलिकोप्टर उडेको हो।

यस विषयमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले भारतीय प्रशासनसँग मौखिक रूपमा कुरा भइसकेको र आवश्यक परे पत्राचार गरिने जानकारी दिए। ‘हेलिकोप्टर नेपाली भूमिमा बसेको त होइन, नेपाली आकाश प्रयोग गरेको देखिन्छ। कहिलेकाहीँ प्राविधिक समस्याका कारण यस्तो हुन सक्ने भए पनि प्रशासनिक रूपमा अर्को देशको आकाश बिनाअनुमति प्रयोग गर्न पाइँदैन। यसबारे हामीले भारतीय प्रशासनलाई यस्तो गर्न पाइँदैन’ भनेर र मौखिक रूपमा ध्यानाकर्षण गराएका छौँ। आवश्यकता हेरेर थप औपचारिक पत्राचारको प्रक्रिया पनि अगाडि बढ्नेछ,’उनले भने। 

भौगोलिक विकटता वा प्रतिकूल मौसमका कारण कहिलेकाहीँ उडान मार्ग परिवर्तन हुन सक्ने भए पनि सो दिन मौसम सामान्य थियो। उडानअघि पूर्वजानकारी दिनुपर्ने सामान्य प्रक्रिया भए तापनि भारतीय पक्षले यसबारे कुनै जानकारी नगराएको प्रशासनको भनाइ छ। यसबारे पिथौरागढस्थित भारतीय जिल्ला अधिकारी डिस्ट्रिक्ट मजिस्ट्रेटको कार्यालयलाई पनि औपचारिक रूपमा सोध्ने तयारी भइरहेको छ। 

दार्चुला क्षेत्रमा भारतीय हेलिकोप्टरले नेपाली आकाश प्रयोग गरेको घटनाहरु सार्वजनिक हुने गर्छन्। केही समयअघि पनि दार्चुला सदरमुकाम खलंगाको आकाश हुँदै भारतीय हेलिकोप्टरहरू निरन्तर कालापानीतर्फ उडेपछि नेपाल सरकारले भारतलाई कूटनीतिक नोट पठाएर ध्यानाकर्षण गराएको थियो।

कमेन्ट लोड गर्नुस