पैँतालिस परिवारले पाए लालपुर्जा
डडेलधुरा: बर्सौंदेखि ऐलानी जमिनमा बसोबास गर्दै आएका गन्यापधुरा गाउँपालिका–५ का ४५ परिवारले मङ्गलबार जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) प्राप्त गरेका छन् । वडा नं. ४ का ५२ घरधुरीले केही दिनमै लालपुर्जा पाउने आशा गरेर बसेका छन् ।
गन्यापधुरा गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर कार्की, उपाध्यक्ष ज्ञानु सेटी तथा वडाध्यक्ष सिपी रोस्याराले स्थानीयलाई लालपुर्जा वितरण गरेपछि वडा कार्यालयपरिसरमा उत्साह र खुसी छाएको थियो । स्थानीय ईश्वरीदेवी ओलीले यस दिनलाई आफ्नो जीवनकै महत्वपूर्ण उपलब्धिका रूपमा लिए।
ग्रामीण क्षेत्रमा धेरै परिवार पुस्तौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वबाट वञ्चित थिए । खेतीपाती गर्ने, घर बनाउने र कर तिर्ने भए पनि उनीहरूसँग जग्गाको आधिकारिक कागजात थिएन । त्यसैले बैङ्कबाट ऋण लिनेदेखि सरकारी सेवा तथा विकासका अवसरमा समेत अव्यवस्थित बसोबासी पछि पर्दै आएका थिए ।
लालपुर्जा प्राप्तिसँगै अब उनीहरूको जग्गामाथिको स्वामित्व कानुनी रूपमा स्थापित भएको छ । यसले आर्थिक तथा सामाजिक सुरक्षाको अनुभूति दिनुका साथै भविष्यका पुस्ताका लागि समेत सम्पत्तिको सुनिश्चित गरेको गाउँपालिका अध्यक्ष कार्कीले बताए ।
भूमि आयोगले केही दिनअघि नै गन्यापधुरा गाउँपालिका–५ र ४ का लागि तयार भएका लालपुर्जा गाउँपालिकालाई उपलब्ध गराएको थियो तर वितरण प्रक्रिया पूरा हुनुअघि नै आयोग खारेज भएको थियो।
उपाध्यक्ष सेटीका अनुसार वडा नं. ४ र ५ मा ऐलानी जग्गा उपभोग गरिरहेका भूमिहीन तथा अव्यवस्थित बसोबासीको जग्गा नापजाँच पूरा गरिएपछि आयोगले दुवै वडाका बासिन्दालाई एकै पटक लालपुर्जा वितरण गर्ने तयारी गरेको थियो तर आयोग नै खारेज भएपछि वितरण गर्न सकिएको थिएन । वडा नं. ५ मा वितरण गरिए पनि वडा नं. ४ का लागि केही दिनमै लालपुर्जा वितरण गरिने उनको भनाइ छ।
भूमिसम्बन्धी समस्या समाधान हुनु केवल कागज वितरणको विषय मात्र नभई यसले नागरिकको आत्मविश्वास, आर्थिक पहुँच र विकासमा सहभागितासँग प्रत्यक्ष सम्बन्ध राखेको उहाँले बताउनुभयो ।