ट्र्याक्टर रोक्नु गलत होइन, सडक बनाउन दबाब दिन गरिएको हो’: पूर्वमुख्यमन्त्री रावलको स्पष्टीकरण
धनगढी: पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले आफूले ट्र्याक्टर रोकेको घटनालाई लिएर सामाजिक सञ्जालमा फैलाइएका भिडियोप्रति आपत्ति जनाउँदै घटनाको वास्तविक पृष्ठभूमि बुझ्न आग्रह गरेका छन्।
रावलले सामाजिक सञ्जालमार्फत दिएको स्पष्टीकरणमा ट्र्याक्टर रोकिएको भिडियोको सानो अंश मात्र काटेर भाइरल बनाउने प्रयास भएको भन्दै त्यसले वास्तविकता नदेखाएको बताएका छन्।
उनका अनुसार सम्बन्धित सडक निर्माणको ठेक्का लिएको कम्पनीले करिब तीन वर्षदेखि सडक अधुरै छाडेर स्थानीयवासीलाई सास्ती दिँदै आएको थियो। निर्माण कार्य पूरा नगरी निर्माण सामग्री अन्यत्र लैजान खोजेपछि स्थानीयको हितका लागि ‘पहिले सडक निर्माण सम्पन्न गर्नुस्, त्यसपछि मात्र सामग्री लैजानुस्’ भन्ने आग्रहसहित ट्र्याक्टर रोकिएको उनले उल्लेख गरेका छन्।
रावलले जनताको समस्यालाई समाधान गर्न निर्माण व्यवसायीलाई जिम्मेवार बनाउन गरिएको उक्त कदमलाई गलत रूपमा व्याख्या गर्नु उचित नभएको बताएका छन्। उनले सोही दबाबका कारण घटनापछिको दिन सडकमा पानी छर्किने तथा कालोपत्र गर्ने काम अघि बढेको दाबी गरेका छन्।
उनले भाइरल हुनकै लागि घटनाको एउटा अंश मात्र सार्वजनिक गरेर भ्रम फैलाउने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्दै कुनै पनि विषयमा निष्कर्षमा पुग्नुअघि त्यसको सम्पूर्ण पृष्ठभूमि बुझ्न र सत्यलाई पूर्ण रूपमा प्रस्तुत गर्न सबैलाई आग्रह गरेका छन्