सुदूर नेपाललाई विश्वसँग जोड्दै

पल्लवीको सिरानी विमोचित

२०८३ साउन ३, १०:४७ खबर संवाददाता

काठमाडौँ: सुदूरपश्चिममा रहेर गजल साधना गरिरहनु भएकी गजलकार तारा पल्लवीले आफ्नो पहिलो गजल कृति ’सिरानी’ ल्याएकी छिन्। आवरण प्रकाशनद्वारा प्रकाशित सो कृतिको विमोचन नेपाली गजलका अभियन्ता ज्ञानुवाकर पौडेल, ललिजन रावल लगायतका अतिथिहरू शनिबार काठमाडौँमा विमोचन गरिन्। 
म मान्छु वचन मेरो रसिलो थिएन
मन तिम्रो पनि त सुकिलो थिएन। 

नारी मनको पीडाका साथै विद्रोह ओकल्ने गजलकारका रूपमा परिचित पल्लवीको सो कृतिमा आठ दर्जन बढी गजल छन्। विमोचन समारोहमा प्रमुख अतिथि वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले सुदूरपश्चिम गजल विधामा निकै अगाडि रहेको बताउँदै कृतिकार पल्लवी धारिला गजल लेख्नमा पोख्त रहेको दावी गरे। सभाध्यक्ष वरिष्ठ गजलकार ललिजन रावलले पल्लवीको गजलसिल्प उत्कृष्ट भएकोले समकालीन गजलकारहरूबिच चुनौति दिएको बताए। 

कृति समीक्षक डा. रमेश शुभेच्छुले सुक्ष्म विषयलाई कलात्मक तरिकाले प्रस्तुति दिनु गजलकारको खुवी भएको तर्क राखे। अर्का समीक्षक डा. नारायण गैरेले पल्लवीका गजल नारी चेतनाको समन्वयात्मक विद्रोहले भरिएको बताए। विमोचन समारोहको आयोजक तथा आवरण प्रकाशनका प्रबन्ध निर्देशक रमेश पौडेलले गजल उन्नयनमा अग्रगामी छलाङ मार्ने सुदूरपश्चिमले पल्लवीजस्ता गजलकार पाउनुले अझ सुन्दर भविष्यको ढोका खोलेको भएको बताए। 

कृतिकार तारा पल्लवीले धनगढीको गजल माहोलले मोहित पारेकोले नै अफूले पहिलो कृति गजल नै निकालेको, अतिथिहरूको सटीक विश्लेषणले थप जिम्मेबारी बोध भएको बताउँदै विमोचित कृतिका गजल सुनाउनु भएको थियो। प्रिया पत्थर साहित्य परिषद् धनगढीकी अध्यक्ष साहित्यकार हेमन्ती जोशीले सुदूरपश्चिमलाई राजधानीले अपार माया दिएको बताउँदै कृतिकारलाई शुभकामना र बधाई दिए। साहित्यकार पार्वती भट्टको डोट्याली लवज मिश्रित सूत्रधारीले समारोहलाई सुदूरपश्चिमकै झलक दिएको थियो। आयोजक र प्रकाशकका तर्फबाट साहित्यकार रमेश पौडेलले कृतिकार पल्लवीलाई प्रशंसापत्र प्रदान गरे भने कृतिकार पल्लवीले अतिथिहरूलाई मायाको चिनो उपहार दिए। 

कमेन्ट लोड गर्नुस