बैतडीका दुईसहित ३ जना धनगढीबाट खैरोहिरोइनसहित पक्राउ
धनगढीः बैतडीका दुईसहित ३ जना कैलालीको धनगढीबाट खैरोहिरोइनसहित पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बैतडीको सुर्नया गाउँपालिका–३ घर भई हाल धनगढी उपमहानगरपालिका–४ मा कोठा गरी बस्दै आएका २८ वर्षीय दिपक ऐरी, बैतडीकै दोगडाकेदार गाउँपालिका–६ घर भई हाल धनगढी उपमहानगरपालिका–४ मा कोठा गरी बस्दै आएका ३१ वर्षीय हेमन्त कार्की र कैलालीको गोदावरी नगरपालिका–१ का स्थानीय ३२ वर्षीय सम्भू भट्ट रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बिहीवार साँझ ५ः०० बजेको समयमा धनगढी उपमहानगरपालिका–४ बोराडाडी स्थित यातायात जाने बाटो नजिकबाट लागूऔषध नियन्त्रण ब्यूरो धनगढी कैलाली र अस्थायी प्रहरी पोष्ट चटकपुरबाट प्रहरी सहायक निरीक्षक डवल साउँदको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई चेकजाँच गरेको थियो।
चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट १ ग्राम ६५ मिलिग्राम लागूऔषध फेला परी बरामद गरिएको जनाएको छ। बरामद लागूऔषधसहित पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कैलालीमा राखी थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ।