धनगढीमा सत्याग्रहरत डा. गोविन्द केसीलाई धर्मशाला खाली गर्न व्यवस्थापन समितिको आग्रह
धनगढी: धनगढीस्थित कृष्ण मन्दिर धर्मशाला व्यवस्थापन समितिले अनिश्चितकालीन सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीलाई धर्मशाला खाली गर्न आग्रह गर्दै पत्र दिएको छ।
व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ पन्तले शुक्रबार बिहान डा. केसीलाई पत्र हस्तान्तरण गरिएको पुष्टि गर्दै उनी बसोबासका लागि धर्मशालामा आएको जानकारी दिए पनि पूर्वसूचना बिना सत्याग्रह सुरु गरिएको बताए।
उनका अनुसार धार्मिक संस्थामा सत्याग्रह सञ्चालन गर्न अनुमति दिइएको विषयमा विभिन्न पक्षबाट दबाब आउन थालेपछि धर्मशाला खाली गर्न अनुरोध गरिएको हो। यद्यपि, दबाब दिने पक्षको नाम भने उनले खुलाउन चाहेनन्।
यसअघि बिहीबार अनेरास्ववियु कैलालीका अध्यक्ष कबेर खड्काले पनि धर्मशाला व्यवस्थापन समितिलाई डा. केसीलाई त्यहाँ सत्याग्रह बस्न नदिन आग्रह गरेका थिए।
यता, डा. केसीका सहयोगी डा. अमृत जैसीले धर्मशाला खाली गर्न पत्र प्राप्त भएपछि अबको रणनीतिबारे छलफल भइरहेको जानकारी दिए। उनका अनुसार डा. केसीले धर्मशालामा बस्ने विषयमा व्यवस्थापनलाई पूर्वजानकारी गराएरै सत्याग्रह सुरु गरेका थिए। तर, अहिले कुन कारणले स्थान खाली गर्न भनिएको हो भन्नेबारे स्पष्ट जानकारी प्राप्त नभएको उनले बताए।
डा. गोविन्द केसी पाँचबुँदे मागसहित बिहीबारदेखि धनगढीमा अनिश्चितकालीन सत्याग्रहमा रहेका छन्।