प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौँ: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज (मंगलबार) दिउँसो १ः०० बजे बस्दै छ। आज बस्ने प्रतिनिधिसभाको बैठकमा विभिन्न प्रतिवेदन पेस गर्ने तथा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्ने सम्भावित कार्यसूची तय गरिएको छ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन’ पेस गर्नुहुने कार्यसूची रहेको छ। यसैगरी, आजको बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुनेछ। सांसद आङ्देम्बेले वास्तविक भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी नागरिकको संरक्षण र पुनःस्थापनाका लागि सरकारले आवश्यक व्यवस्था मिलाउनुपर्ने मागसहितको प्रस्ताव प्रस्तुत गर्नेछन्। सो प्रस्तावमा सुरक्षित आवास, आधारभूत सेवा, खाद्य, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनको निरन्तरतालाई ध्यान दिँदै उचित क्षतिपूर्ति, स्थायी पुनःस्थापनाको प्रत्याभूति दिलाउन र वास्तविक भूमिहीन एवं सुकुमवासीलाई यथाशीघ्र लालपूर्जा वितरण गर्नुपर्ने विषयहरू समेटिएका छन्।
यस प्रस्तावको समर्थकमा सांसदहरू ऐनबहादुर महर, युवराज दुलाल र आरेन राई छन्। प्रतिनिधिसभा बैठकका अतिरिक्त आज सङ्घीय संसद्का विभिन्न पाँच वटा संसदीय समितिहरूको बैठक समेत बस्ने कार्यसूची रहेको छ। सङ्घीय संसद् सचिवालयका अनुसार आज अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, राज्य व्यवस्था तथा सुशासन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ।
बिहान १०ः०० बजे बस्ने अर्थ समितिको बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’माथि दफाबार छलफल जारी रहनेछ भने सोही समयमा बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा ‘खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन सम्बन्धमा’ छलफल गर्ने कार्यक्रम तय गरिएको छ।
यस्तै, बिहान ११ः०० बजे बस्ने राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिक व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ उपर सैद्धान्तिक र दफावार छलफल गरिनेछ भने कार्यविधि मस्यौदा तर्जुमा उपसमितिको प्रतिवेदनका सम्बन्धमा पनि छलफल हुनेछ।
यसैगरी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धमा मन्त्रालयसँग सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ भने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिका पूर्वसभापति रामनारायण विडारीसँग सरकारी आश्वासनका सम्बन्धमा छलफल गर्ने कार्यक्रम रहेको छ।