प्रदेश सरकारमा फाइल अड्किँदा धनगढीको अत्याधुनिक बसपार्क निर्माण रोक्कियो
धनगढी: धनगढी उपमहानगरपालिकाले वडा न.३ मा सुदूरपश्चिम प्रदेशकै नमुना र चिनारीका रूपमा गेम चेन्जर परियोजना अत्याधुनिक बसपार्क निर्माण गर्ने योजना अघि बढाए पनि आवश्यक जग्गा प्राप्तिको प्रक्रिया प्रदेश सरकारमै रोकिँदा आयोजना अघि बढ्न सकेको छैन।
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालका अनुसार बसपार्क निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी सार्वजनिक गरिसकिएको छ। डीपीआर सार्वजनिक भएपछि आवश्यक सबै प्राविधिक तथा प्रशासनिक अध्ययन पूरा गरेर जग्गा प्राप्तिका लागि प्रक्रिया अघि बढाइएको थियो।
नगर प्रमुख हमालका अनुसार बसपार्क निर्माणका लागि आवश्यक जग्गाको स्वामित्व प्राप्त गर्न धनगढी उपमहानगरपालिकाले वन मन्त्रालयमा विभिन्न मितिमा पत्राचार गरेको थियो। त्यसपछि आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित फाइल संघीय वन मन्त्रालयमा पठाइएको थियो। हाल उक्त फाइल संघीय वन मन्त्रालयबाट वन विभाग हुँदै सुदूरपश्चिम प्रदेशको वन मन्त्रालयमा पुगेको छ।
उनले वन ऐन संशोधनपछि जग्गा प्राप्तिको प्रक्रिया प्रदेश सरकारको निर्णयसँग जोडिएको बताए। उनका अनुसार अब सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद्ले धनगढी उपमहानगरपालिकाको प्राथमिकताको योजनाका रूपमा बसपार्क निर्माणलाई स्वीकृत गर्ने निर्णय गरी फाइल पुनः संघीय वन मन्त्रालयमा पठाउनुपर्ने कानुनी व्यवस्था छ। त्यसपछि संघीय मन्त्रिपरिषद्ले निर्णय गरेपछि मात्रै बसपार्क निर्माणका लागि आवश्यक जग्गा प्राप्त हुने छ।
तर प्रदेश सरकारबाट मन्त्रिपरिषद्को आवश्यक निर्णय हुन नसक्दा फाइल प्रदेशमै रोकिएको र त्यसकै कारण बसपार्क निर्माण प्रक्रिया अगाडि बढ्न नसकेको नगर प्रमुख हमालले बताए।
उनले धनगढीलाई आधुनिक, व्यवस्थित तथा सुदूरपश्चिमको पहिचान झल्किने बसपार्क निर्माण गर्ने लक्ष्य रहेको उल्लेख गर्दै प्रदेश सरकारले आवश्यक निर्णय गरी प्रक्रिया छिटो अघि बढाइदिन आग्रह गरेका छन्।
प्रस्तावित अत्याधुनिक बसपार्क निर्माण सम्पन्न भएपछि धनगढीको सार्वजनिक यातायात व्यवस्थापन थप व्यवस्थित हुने, यात्रुहरूले आधुनिक सुविधा प्राप्त गर्ने तथा सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारका रूपमा धनगढीको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।