सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गोदावरीमा रहेको ग्रीन होम प्रालिले बनाएको लड्डुमा 'गुट्खा भेटियो'

२०८३ साउन २७, ०४:३२ खबर संवाददाता

धनगढीः कैलालीको गोदावरी नगरपालिका–६ मा रहेको ग्रीन होम प्रालीले उत्पादन गरेको लड्डुभित्र गुट्खाको टुक्रा भेटिएको एक ग्राहकले दाबी गरेका छन्।

एक केजीको बट्टामा प्याक गरिएको काकाज ब्रान्डको बेसनको लड्डु खानका लागि खोल्दा लड्डुभित्र गुट्खाजस्तो देखिने टुक्रा भेटिएको ग्राहकले बताएका हुन्। खाद्य वस्तुभित्र गुट्खाको टुक्रा भेटिएपछि उनले उद्योगको उत्पादन प्रक्रियामाथि प्रश्न उठाएका छन्।

तर ग्रीन होम प्रालीका सञ्चालक दिनेश लम्सालले भने उक्त वस्तु काम गर्ने क्रममा चनाको खोष्टो मिसिएको हुनसक्ने बताएका छन्। ग्राहकबाट आफूलाई पनि गुनासो प्राप्त भएको भन्दै उनले उद्योगमा भएका कमजोरी आगामी दिनमा सुधार गर्ने प्रतिबद्धता जनाएका छन्।

सञ्चालक लम्सालका अनुसार उद्योगमा हाल ६० देखि ७० जना महिला र २० देखि ३० जना पुरुष गरी करिब एक सय जना कामदार कार्यरत छन्। खाद्य स्वच्छता, गुणस्तर र कम्पनीको बजारलाई ध्यानमा राख्दै उत्पादन तथा प्याकेजिङका क्रममा सरसफाइ लगायतका विषयमा विशेष ध्यान दिइने उनले बताए।

लड्डुभित्र भेटिएको वस्तु गुट्खा हो वा चनाको खोष्टो भन्ने विषय भने सम्बन्धित निकायबाट परीक्षण तथा अनुसन्धान भएपछि मात्रै यकिन हुने देखिएको छ। घटनाले खाद्य वस्तुको उत्पादन र प्याकेजिङमा गुणस्तर नियन्त्रण तथा स्वच्छताको विषयमा प्रश्न उठाएको छ।

 

कमेन्ट लोड गर्नुस