धनगढीको शिवगौरी धाममा रुद्राभिषेक यज्ञ आयोजना
धनगढीः धनगढी उपमहानगरपालिका–४ भगवती टोलस्थित श्री शिवगौरी धाममा रुद्राभिषेक यज्ञ कार्यक्रम आयोजना गरिएको छ। हिन्दु धर्मावलम्बीको आस्था, धार्मिक संस्कार तथा सनातन परम्पराको संरक्षण गर्ने उद्देश्यले श्री शिवगौरी धाम संरक्षण समाजको आयोजनामा धार्मिक अनुष्ठान गरिएको हो।
भगवान् शिवको आराधना तथा धार्मिक परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष विभिन्न धार्मिक अनुष्ठान गर्दै आएको धामले यस वर्ष पनि त्यसलाई निरन्तरता दिएको धामका सचिव इन्द्रसिंहले जानकारी दिए।
कार्यक्रमअन्तर्गत शुक्रबार बिहान ८ बजे धाम परिसरबाट कलश यात्रा निकालिएको थियो। भगवती टोल संस्था, नमस्ते युवा क्लब, पञ्जली योग समिति, ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय, हिन्दु परिषद् नेपाल, शिवपुरी संरक्षण समाजलगायत विभिन्न संघसंस्था तथा स्थानीयको सहभागितामा कलश यात्रा टोल परिक्रमा गरिएको थियो।
बिहानदेखि अपराह्नसम्म रुद्राभिषेक यज्ञ सञ्चालन हुने र दिउँसो ३ बजेदेखि पाठपारायण गरिने आयोजकले जनाएको छ। यस्तै, साँझ सन्ध्याकालीन आरतीसँगै रुद्राभिषेक यज्ञ समापन गरिने सचिव सिंहले जानकारी दिए।
धार्मिक अनुष्ठानमा नगरवासी, भक्तजन तथा जनप्रतिनिधिलाई समेत आमन्त्रण गरिएको धामले जनाएको छ। कार्यक्रमलाई सफल बनाउन श्री शिवगौरी धाम संरक्षण समाजले सम्पूर्ण श्रद्धालु भक्तजनलाई धाम परिसरमा उपस्थित भई धार्मिक अनुष्ठानमा सहभागी हुन अनुरोध गरेको छ।