बाजुराका किसानलाई स्याउ टिप्ने चटारो
बाजुराः जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली, स्वामिकार्तिक खापर, जगनाथ र बुढीनन्दाका किसानलाई स्याउ टिप्ने चटारो छ ।
यहाँ साउनको पहिलो सातादेखि स्याउ पाक्न सुरु भए पनि राम्रोसँग भदौको दोस्रो साता सम्ममा मात्र पाक्ने गर्छ ।
यति बेला बारीमा पाकेको स्याउ झरेर खेरजान्छ की भन्ने डरले चाँडो बिक्री गर्न यहाँका किसानलाई त्यो स्याउ टिप्ने चटारो परेको हो । बाजुरामा गत वर्षको भन्दा यो वर्ष स्याउ राम्रो फलेको छ । यो वर्ष स्याउ राम्रो फलेपछि यतिबेला यहाँका स्याउ किसान आम्दानी बढी हुने आशमा छन् ।
यहाँको स्याउ देशका विभिन बजारमा पुग्ने गरेको भन्दै अहिले यहाँका स्थानीयले अन्नबाली लगाउने जमिनमा समेत स्याउ खेती गर्न थालेका हुन् । यहाँको स्याउ अर्गानिक भएकाले शहरबाट पनि व्यापारीहरु स्याउ खरिद गर्न बारीमा आउने गर्छन् ।स्याउ त साउनको पहिलो हप्तादेखि पाक्न सुरु भएको हो । तर राम्रोसँग भदौको दोस्रो हप्तादेखि मात्र पाक्ने भएकोले यति बेला यहाँका किसानलाई स्याउ टिप्ने चटारो परेको स्वामिकार्तिक खापर आगउँपालिका–१ रुडिका जनक बुढाले बताए।
गत वर्ष बारीमा प्रतिकिलो ३० रुपियाँका दरले स्याउ बिक्री गरेका थियौं । अहिले ५० रुपियाँका दरले बिक्री गर्नेुपर्ने देखिन्छ । त्यो दरमा व्यापारीले दिएन भने स्याउ आफै बजारमा लगेर बिक्री गर्ने योजना बनाएको बुढाले बताए।
यहाँ गोल्डेन, डेलिसिएस, गाला फुँजी र स्थानीय जातको स्याउ उत्पादन हुनेगर्छ । पहिलाभन्दा अहिले स्याउ बढी उत्पादन हुनेगरेको छ । यहाँका किसानको स्याउप्रति चासो बढ्दै गएकाले पहिलाभन्दा अहिले स्याउ बढी उत्पादन हुनेगरेको हो ।
बाजुरामा करिब १७० हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिन्छ । अबका केही दिनपछि यहाँ १८० हेक्टरभन्दा बढी जमिनमा स्याउ खेती हुने सम्भावना रहेको छ । पहिलेभन्दा अहिले स्थानीयले स्याउ खेती बढी गर्ने गरेका छन् । गत वर्ष जिल्लामा दुई हजार मेट्रिक टनभन्दा बढी स्याउ उत्पादन भएको थियो । अघिल्लो वर्षमा यहाँदेखि करिब ६ सय मेट्रिक टन स्याउ जिल्ला बाहिर बिक्री गरिएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख हरिशबहादुर विष्टले बताए।
उनका अनुसार यो वर्षमा स्याउ गत वर्षको भन्दा राम्रो फलेको छ । अहिले झण्डै सातसय मेट्रिक टन भन्दाबढी स्याउ बाहिर जाने सम्भावना देखिएको छ ।” बाजुराको हावापानी र माटो स्याउ खेतीका लागि उपयुक्त भएकाले पछिल्लो समय स्याउ उत्पादनको सम्भावना उच्च रहेको छ ।
स्याउ खेतीबाट किसानको आयआर्जन बढ्ने देखिएकाले कृषि ज्ञान केन्द्रले स्थानीय तहसँग समन्वय गरी नयाँ बिरुवा वितरण, प्राविधिक सहयोग तथा बजारीकरणका लागि अनुदानको व्यवस्था गर्दै आएको विष्टले बताए। -गाेरखापत्रबाट