भोटेकोशी बाढीपछि बाजुराका सम्पर्कविहीन व्यक्तिका आफन्तले काजक्रिया गर्न थाले
बाजुरा: बाजुराका सम्पर्कविहीन व्यक्ति लामो समयसम्म फेला नपरेपछि उनीहरूका आफन्तले काजक्रिया गर्न थालेका छन्। सम्पर्कविहीन भएको २० दिनसम्म पनि कतै फेला नपरेपछि आफन्तले हिन्दू धर्मअनुसार काजक्रिया सुरु गरेका हुन्।
सम्पर्कविहीन मोहनलाल रोकायाकी श्रीमती जमुना रोकायाका अनुसार उनका श्रीमान् सम्पर्कविहीन भएको २० दिन भइसकेको छ। अझैसम्म फेला नपरेपछि उनले पनि काजक्रिया गर्ने तयारी गरेकी छन्। “मैले पनि मेरो श्रीमान्काे धेरै ठाउँमा खोजी गरिसकेँ। उहाँ कतै फेला पर्नुभएको छैन। फेला नपरेपछि जसरी अरूले काजक्रिया गरेका छन्, त्यसैगरी म पनि असोज २ गतेदेखि श्रीमानको काजक्रिया गर्छु।”
काजक्रिया गर्ने तयारीबारे उनले भनिन्, “अब महिना जान दुई–तीन दिन मात्र बाँकी छ। हिन्दू धर्मअनुसार दोमासो लाग्ने भएकाले आउँदो असोज २ गतेदेखि श्रीमान्काे काजक्रिया गर्ने तयारी गरेकी छु।”
त्यस्तै हिमाली गाउँपालिका–४, फैतीका बिसी पाण्डेलगायत सम्पर्कविहीन भएका दुई–चार जनाका आफन्तले भने काजक्रिया गरिसकेका छन्।
भोटेकोशी नदीमा आएको बाढीपछि बाजुराका १६ जना सम्पर्कविहीन भएका थिए। उनीहरू रसुवाको टिमुरेमा बसोबास तथा काम गर्दै आएका थिए। भदौ १० गते आएको बाढीपछि उनीहरू टिमुरेबाट सम्पर्कविहीन भएका हुन्।
बाढीपछि उनीहरूको अहिलेसम्म न सास न लास फेला केही परेको छैन। सम्पर्कविहीनका आफन्तले विभिन्न ठाउँमा खोजी गरे पनि उनीहरू फेला पर्न सकेका छैनन्।
हिमाली गाउँपालिका–६ का दीपे सार्कीकी श्रीमती मनसरी सार्कीले श्रीमान् सम्पर्कविहीन भएपछि धेरै ठाउँमा खोजी गरे पनि अहिलेसम्म न लास न सास फेला परेको बताइन्।
उनले भनिन्, “मेरो श्रीमान् नेपाली सेनामा हुनुहुन्छ। उहाँ टिमुरेस्थित श्रीनाथ गणमा कार्यरत हुनुहुन्थ्यो। भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि उहाँ रसुवाको टिमुरेबाट सम्पर्कविहीन हुनुभएको हो।”
केही दिनसम्म श्रीमान् भेटिने आशा रहे पनि धेरै ठाउँमा खोजी गर्दा नभेटिएपछि आशा निराशामा परिणत भएको उनले बताइन्। त्यसपछि डीएनए परीक्षण गराएको उनकाे भनाइ छ।
जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार हिमाली गाउँपालिका–६ का ५३ वर्षीय शेरसिंह रोकाया, १९ वर्षीय दीपक रोकाया, ५० वर्षीया विष्णुमती रोकाया, ३५ वर्षीया आराम नेपाली, ३३ वर्षीया उजना दमाई, ३२ वर्षीय मोहनलाल रोकाया, ३२ वर्षीय विक्रम भण्डारी, ४५ वर्षीय दीपे सार्की, ५५ वर्षीय बिसी पाण्डे र हिमाली गाउँपालिका–४ का १८ वर्षीय चन्द्र सार्की अझै सम्पर्कविहीन छन्।
त्यसैगरी, स्वामीकार्तिक खापर गाउँपालिका–४ का ४० वर्षीय मनऋषि सञ्ज्याल, ३८ वर्षीया मनकला सञ्ज्याल, १८ वर्षीया सुस्मिता जोशी, स्वामीकार्तिक खापर गाउँपालिका–३ का ४६ वर्षीय वीरेन्द्र जैशी, ४४ वर्षीया सत्यादेवी जैशी र जगन्नाथ गाउँपालिका–६ का २९ वर्षीय मुकेश दमाई पनि अझै सम्पर्कविहीन छन्।
सम्पर्कविहीन भएको करिब २० दिनसम्म पनि उनीहरू फेला परेका छैनन्। सम्पर्कविहीन भएका केहीका आफन्तले डीएनए परीक्षणसमेत गराएका छन् भने केहीले काजक्रिया गरेका छन्।
सम्पर्कमा नआएका हिमाली गाउँपालिका–६ का विक्रम भण्डारीको जिल्ला अस्पताल बाजुरामा र दीपे सार्कीको काठमाडौँमा डीएनए परीक्षण गराइएको जिल्ला प्रशासन कार्यालय बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले बताए।
“भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि उहाँहरू सबै जना रसुवाको टिमुरेबाट सम्पर्कविहीन हुनुभएको हो” उनले भने। प्रहरी प्रशासन र आफन्तले खोजी कार्य जारी राखे पनि उनीहरू अहिलेसम्म सम्पर्कमा नआएको सहायक प्रमुख जिल्ला अधिकारी पुडासैनीले बताएका छन्।