बझाङमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सम्पन्न, स्थानीयसँग संवाद
बझाङः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बझाङले सञ्चालन गरेको ‘हामी आउँदैछौँ’ अभियानअन्तर्गतको विशेष कार्यक्रम सम्पन्न भएको छ। पार्टी संगठन विस्तार तथा जनसम्पर्क अभिवृद्धि गर्ने उद्देश्यसहित सञ्चालन गरिएको अभियानका क्रममा जिल्लाका विभिन्न स्थानीय तहमा भेटघाट तथा संवाद गरिएको हो।
अभियानमा प्रतिनिधिसभा सदस्य कोमल ज्ञवाली सुवेदी, राष्ट्रिय स्वतन्त्र पार्टीका सुदूरपश्चिम प्रदेश उपसभापति भोजराज जोशी, प्रदेश समिति सदस्य बीना बिष्ट र गणेश शाही तथा जिल्ला सभापति सत्यराज उपाध्यायसहित पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।
अभियानका क्रममा स्थानीय तहमा पुगेर स्थानीय नागरिक, पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट र संवाद गरिएको रास्वपा बझाङले जनाएको छ। पार्टीले सञ्चालन गरेको यस अभियानलाई स्थानीय स्तरमा जनसम्पर्क विस्तार तथा संगठन सुदृढीकरणसँग जोडेर हेरिएको छ।
रास्वपाले ‘हामी आउँदैछौँ’ अभियान देशभर सञ्चालन गर्दै नागरिकका समस्या, अपेक्षा र गुनासा सुन्ने तथा सरकार र जनप्रतिनिधिप्रतिको धारणा बुझ्ने उद्देश्य राखेको सुदूरपश्चिम प्रदेश समिति सदस्य बिना बिष्टले जानकारी दिइन्। अभियानबाट प्राप्त सुझाव तथा नागरिकका सवाललाई सम्बोधन गर्न उक्त अभियान सञ्चालन गरिएको उनले बताइन्।