आज बडादसैँको दोस्रो दिन, टीका र जमरा लगाउने क्रम जारी
धनगढी: बडादसैँअन्तर्गत विजयादशमीको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट टीका र जमरा लगाएर आशीर्वाद लिने क्रम जारी छ।
विजयादशमीका दिन घरपरिवारमा टीका लगाएपछि दोस्रो दिनदेखि आफन्त तथा मान्यजनको घरमा पुगेर टीका, जमरा ग्रहण गर्ने र आशीर्वाद लिने परम्परा रहेको छ। टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुग्न नसकेकाहरूले कोजाग्रत पूर्णिमासम्म नै टीका लगाउने चलन छ।
नेपालका केही स्थानमा विजयादशमीका दिन मात्रै टीका लगाउने परम्परा भए पनि अधिकांश स्थानमा भने कोजाग्रत पूर्णिमासम्म टीका र जमरा लगाएर आशीर्वाद ग्रहण गर्ने गरिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार नवदुर्गा भवानीको प्रसादस्वरूप कोजाग्रत पूर्णिमासम्म टीका र जमरा लगाएर मान्यजनबाट आशीर्वाद लिन सकिन्छ।