डाक्टर ड्यूटीमा नआएको भन्दै अस्पतालमा तोडफोड
सप्तरीको एक अस्पतालमा डाक्टर ड्युटीमा नआएको भन्दै तोडफोड गरिएको छ। सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालमा विरामीका आफन्तले तोडफोड र प्रदर्शन गरेपछि सोमबार अस्पताल तनावग्रस्त बनेको छ। डा.ज्ञानेन्द्र झा र डा.प्रनेश यादव दिउसो २ बजेसम्म पनि अस्पताल नआएपछि आक्रोसित विरामीका आफन्त तथा विद्यार्थीहरुले नाराबाजी गर्दै तोडफोड गरेका हुन्।
तोडफोडका कारण डा.झा र डा.यादवको विरामी जाँच्ने कोठामा क्षति पुगेको अस्पताल प्रशासनले जनाएको छ। प्रहरीले तोडफोडमा संलग्न भएको आरोपमा राजविरा–१ निवासी गुन्जन झालाई पक्राउ गरेको छ। अस्पताल प्रशासनले भने डा.झा बिदामा रहेको र डा.यादव सो समयमा आपतकालिन कक्षमा एक विरामीको उपचार गरिरहेको दाबी गरेको छ। तनावग्रस्त बन्दै गएपछि अहिले अस्पतालमा परिषरमा सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ।