‘रिटायर’ हुने अमिताभ बच्चनको संकेत
भारतीय अभिनेता अमिताभ बच्चनले ‘रिटायर’ हुने संकेत दिएका छन्। बच्चनले उनको ‘ब्लग’ मार्फत रिटायरमेन्टको संकेत दिएका हुन्। उनले लेखेका छन, ‘अब मैले रिटायर्ड हुनुपर्छ, मेरो दिमागले एउटा कुरा गरिरहेको छ भने मेरो औँलाहरुले अर्कै, यो एउटा संकेत हो।’ केही समयअघि देखि बच्चनको स्वास्थ्यमा समस्या आइरहेको थियो। गएको अक्टोबर महिनामा पनि उनी अस्पताल भर्ना भएको खबर सार्वजनिक भएको थियो। केही दिन आराम गरेर उनले फेरि ‘कौन बनेगा करोडपति ११’ को छायाँकन सुरु गरेका थिए। तर त्यसपछि पनि उनको स्वास्थ्यमा पटक पटक समस्या भएको खबरहरु आएका थिए।
‘कौन बनेगा करोडपति ११’ को छायाँकन सकिएलगत्तै बीचमा विश्राम नै नलिइ उनी चलचित्र ‘ब्रह्मास्त्र’ को छायाँकनका लागि मनाली गएका छन्। त्यहाँको मौसम खराब भएपछि बच्चन हवाई मार्गको सट्टा सडक मार्गबाटै मनाली गएका थिए। मनालीसम्मको १२ घण्टाको लामो यात्राबाट थकित भएका बच्चनले अब रिटायरमेन्टतर्फ इसारा दिएको खबर यतिबेला भारतीय सञ्चारमाध्यमा आइरहेका छन्।
अभिताभ बच्चनले यसअघि पनि अभिनयबाट पटक पटक विश्राम लिएका थिए। सन् १९८४ देखि १९८७ सम्म बच्चनले तीन वर्षका लागि चलचित्र तथा अभिनयबाट बिदा लिएका थिए। त्यस समय अमिताभ बच्चन उनका मित्र राजीव गान्धीलाई सहयोग गर्न राजनीतिको मैदानमा उत्रिएका थिए। तर राजनीतिमा उनको यात्रा धेरै लामो समयसम्म टिक्न सकेन। बच्चनले सन् १९८८ मा चलचित्र ‘शहन्शाह’ बाट राम्रो ‘कमब्याक’ गरेका थिए। त्यसपछि सन् १९९२ सम्म लगातार चलचित्रमा सक्रिय भएका थिए।
सन् १९९२ मा चलचित्र ‘खुदागवाह’ प्रदर्शनपछि बच्चनले पाँच वर्षको विश्राम लिएका थिए। त्यसपछिसन् १९९४ मा चलचित्र ‘इन्सानियत’ प्रदर्शन भएको थियो। उनले यो चलचित्रको छायाँकन पहिले नै गरिसकेका थिए तर यो चलचित्र फ्लप भयो। त्यस समय अमिताभ बच्चन झण्डै पाँच वर्षसम्म कुनै पनि चलचित्रमा देखिएनन्। पछि सन् २००० मा उनले चलचित्र ‘मोहब्बतें’ बाट कमब्याक गरे र उनी अहिलेसम्म निरन्तर सक्रिय छन्।
अभिताभ बच्चनका आगामी चलचित्र
हालै उनले चर्चित टेलिभिजन रियालिटी शो ‘कौन बनेगा करोडपति ११’ छायाँकन पूरा गरेका छन्। यतिबेला अमिताभ बच्चन उनको आगामी चलचित्र ‘ब्रम्हास्त्र’ को छायाँकनमा व्यस्त छन्। यो चलचित्र सन् २०२० को डिसेम्बरमा प्रदर्शनमा आउनेछ। यस बाहेक उनी अभिनेता इमरान हासमीका साथ चलचित्र ‘चेहेरे’ देखिनेछन् । यो चलचित्र सन् २०२० को अप्रिल महिनामा प्रदर्शनमा आउनेछ। उनी अर्को चलचित्र ‘गुलाबो–सिताबो’ मा देखिनेछन्। जुन चलचित्रमा उनी आयुष्मान खुरानाका साथ देखिनेछन्। यो चलचित्र सन् २०२० को फेब्रुअरी महिनामा प्रदर्शन हुनेछ।
अभिनय क्षेत्रमा ५० वर्ष
चलचित्र बाहेक उनी विज्ञापनहरुमा व्यस्त रहन्छन्। उनी क्याडबरी, डाबर, इमामी ब्राण्ड, विभिन्न बैंक, मोबाइल, र पेन्टका ब्राण्ड एम्बेसडर छन्। बच्चनले सन् २०१९ को नोभेम्बर ७ मा अभिनय क्षेत्रमा ५० वर्ष पूरा गरिसकेका छन्। सन् १९६९ मा उनको पहिलो चलचित्र ‘सात हिन्दुस्तानी’ प्रदर्शन भएको थियो।