सुदूर नेपाललाई विश्वसँग जोड्दै

वर्षौंसम्म डिप्रेसनमा रहेर आफैंलाई मार्ने ८ विश्वचर्चित लेखक

२०७६ मंसिर १६, ०९:३९

विश्वचर्चित लेखक–कलाकार पनि आममान्छेजस्तै विभिन्न समस्यामा जेलिएका हुन्छन्। तर पनि उनीहरू सिर्जनात्मक कार्यमा भने लागिरहेकै हुन्छन्। विश्वसाहित्यलाई एकपटक हेर्ने हो भने धेरै सफल लेखकहरूले आत्महत्या गरेका छन्। वर्षौंसम्म डिप्रेसनमा रहेर आफैंलाई मार्ने लेखकहरूको सूची पनि लामो छ। 
आफ्नो लेखनबाट विश्वमा चिनिएका यी लेखकहरूले डिप्रेसनलगायतका कारणहरूले आत्महत्या गरे–

१. अर्नेस्ट हेमिङवे
अर्नेस्ट हेमिङवे निकै प्रसिद्ध र सफल लेखकमा चिनिन्छन् । उनको चर्चित कृति ‘द ओल्ड मेन एन्ड द सी’ले नोबेल पुरस्कार प्राप्त गरेको थियो । सन् १८९९ मा जन्मिएका हेमिङवेले ६१ वर्षको उमेरमा आत्महत्या गरेका हुन् । अमेरिकाको इडाओ प्रान्तको केटचुम भन्ने ठाउँमा सन् १९६१ जुन २ मा उनले आफैंलाई गोली हानेर आत्महत्या गरे । उनको ‘द ओल्ड मेन एन्ड द सी’ सँगै ‘ए फेयर वेल्स टु आम्स’, ‘द सन अल्सो राइजेस’ चर्चित कृति हुन्।

२. भर्जि्निया उल्फ
सन् १८८२ मा जन्मिएकी भर्जि्निया उल्फले आफू ५९ वर्षको उमेरमा पानीमा डुबेर आत्महत्या गरेकी हुन् । उल्फले आफ्नो सुसाइड नोटमा लेखेकी थिइन्, ‘प्रिय, म महसुस गरिरहेकी छु कि म फेरि बौलाउँदै छु । मलाई लाग्छ हामी फेरि यस्तो समयबाट पार हुन सक्दैनौं । र म समयलाई रोक्न पनि सक्दिनँ । म आवाज सुन्न थालेकी छु र म ध्यान दिन सक्दिनँ । त्यसैले मलाई जे गर्दै छु त्यही सहीजस्तो लाग्छ । तिमीले मलाई आफूले सक्ने सबै खुसी दिएका छौ ।’ उल्फले सन् १९४१ मा अमेरिकाको लेविसमा आत्महत्या गरेकी हुन् । उनका ‘अ रुम अफ वान्स ओन’, ‘मिसेस डेल्लोवे’, ‘टु द लाइटहावस’ उनका प्रमुख कृतिहरूमा पर्छन् । 

३. सिल्भिया प्लाथ
अमेरिकाको बोस्टन प्रान्तमा जन्मिएकी सिल्भिया प्लाथले ३० वर्षको उमेरमा आत्महत्या गरिन् । सन् १९६३ फेब्रुवरी ११ मा आफ्नो टाउकोलाई ओभनमा राखेर उनले आत्महत्या गरेकी हुन् । ‘द बेल जार’, ‘द मिसिङ मी’, ‘द कोसास्सुस’, जस्ता प्रमुख कृतिकी लेखक प्लाथले लन्डनमा आफ्नै फ्ल्याटमा आत्महत्या गरेकी हुन् । 

४. हन्टर एस थोम्सन
‘द रोम डायरी’ जस्तो उत्कृष्ट पुस्तकका लेखक थोम्सनले ६७ वर्षको उमेरमा आत्महत्या गरेका हुन्। ढाडको रोगबाट ग्रसित उनले सुसाइड नोटमा लेखेका थिए, ‘अब पीडा हुनेछैन मलाई। अब १७ वर्ष तड्पिएजसरी तड्पिनु पर्दैन।’ उनले सन् २००५ फेब्रुवरी २० मा आफैंलाई गोली हानेर आत्महत्या गरेका थिए। 

५. एन्ने सेक्सटन
सन् १९२८ मा जन्मिएकी एन्नेले १९७४ मा आत्महत्या गरेकी हुन् । पुलित्जर पुरस्कार प्राप्त अमेरिकी कवि सेक्सटनका कवितामा मानसिक तनाव र डिप्रेसन कुरा अधिक पढ्न पाइन्छ । १९७४ अक्टुबर ४ मा ४९ वर्षकी उनले आफैंलाई बेहोसीमा कारभित्र लक गरी आत्महत्या गरेकी हुन् । ‘लिभ अर डाई’, ‘द डेथ नोटबुक्स’ उनका प्रमुख कृतिमा गनिन्छन् । 

६. डेभिड फेस्टर वालेस
सन् १९६२ मा अमेरिकाको न्युयोर्कमा जन्मिएका वालेसले ४६ वर्षको उमेरमा आत्महत्या गरेका हुन्। वर्षौंदेखि डिप्रेसनबाट ग्रसित वालेसले क्यालिफेर्नियामा सन् २००८ झुन्डिएर आत्महत्या गरेका थिए। उनले २० वर्षदेखि डिप्रेसनको औषधि प्रयोग गरिरहेका थिए। आत्महत्या गर्नुअघि उनले दुई पाना लामो सुसाइड नोट लेखेका थिए। ‘द पेल किङ’, ‘इन्फिनाइट जेस्ट’ उनका महङ्खवपूर्ण कृति हुन्। उनलाई सन् २००० को दशकको एकदमै सिर्जनशील लेखकको रूपमा हेरिन्छ। 

७. एब्बी होफमेन
सन् १९३६ मा अमेरिकामा जन्मिएका लेखक तथा राजनीतिज्ञ होफमेनले ५३ वर्षको उमेरमा आत्महत्या गरे । उनले बार्बिटुरेस नामको औषधि अधिक सेवन गरेर आत्महत्या गरेका हुन् । यो औषधि निद्रा नलाग्दा प्रयोग गरिन्छ । डिप्रेसनबाट ग्रसित होफमेनले सन् १९८९ मा अमेरिकाको पेन्सिल्भिनिया प्रान्तमा आत्महत्या गरे । ‘रिभोलुसन फर हेल अफ इट’, ‘स्टिल दिस बुक’, ‘भोट’ आदि उनका प्रमुख कृति हुन् ।

८. जोन बेरिमेन
अमेरिकी कवि बेरिमेन ११ वर्षको हुँदा उनका बाबुले आत्महत्या गरेका हुन् । यस घटनाले उनको जीवनमा निकै प्रभाव पारेको थियो। अधिक रक्सी खाने गरेका उनलाई कैयौंपटक अस्पताल भर्ना गर्नुपरेको थियो । सन् १९१४ मा ओक्लाहोमामा जन्मिएका बेरिमेनले १९७२ मा आत्महत्या गरेका हुन्। जनवरी ७ मा उनले वासिङटन एभिनिउ पुलबाट फाल हानेर आत्महत्या गरेका हुन् । ‘द ड्रिम्स संग्स’, ‘लभ एन्ड फेम’ उनका प्रमुख कृतिहरूमा पर्छन्।

कमेन्ट लोड गर्नुस