सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेकपालाई व्यङ्ग्य, प्रेमिकालाई प्रश्न- ’तँ भनि बोलाउ कि भनौं म हजुर?’(भिडियो)

२०७६ फाल्गुन १०, ०१:१४ खबर संवाददाता

मन परेको मायालाई के भन्ने ? मेरो राजा, मेरो बाबा, मेरी रानी, बेबी, काले-काली आदि। यी त प्रेमले बोलाउने ’बैकल्पिक नाम’ हुन्। सम्बोधन कसरी गर्ने त ? तँ, तिमी, तपाईं, हजुर वा त मौसुफ नै ? अँह प्रेमले बोलाए सबै शब्द प्रेमिल लाग्छन् । यस्तै भाव समेटिएको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। 

चर्चित लोक गायिका मेलिना राई र चर्चित गायक सुकदेव अधिकारीको स्वरमा रहेको गीत ’के भनौं हजुर ?’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो।

यो गीतको सुरुवातमा प्रेमीले सोध्छन् - ए मेरी रानीलाई के भनौं म हजुर ? प्रेमिकाको उत्तर आउँछ - ए म त हजुरकै रानी हुँ जे भन्नुस् हजुर। यसपछि गीत सुरु हुन्छ। गीतको मुख्य बोल भने ’ओइ मेरी रानीलाई ! तँ भनि बोलाउ कि भनौं म हजुर ? छ ।

हुन त सरकार चलाइरहेको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना छोराछोरी, श्रीमती र आफूभन्दा साना कसैलाई पनि तँ नभन्नु भनी नेता-कार्यकर्तालाई निर्देशन गरेको छ। तर यो गीतमा भने प्रेमले जे भन्दा पनि हुन्छ भन्ने स्वीकृति दिइएको छ।

युवा समाजसेवी लोकेश खत्रीले लगानीमा बनेको म्युजिक भिडियो ‘के भनौं हजुर’ भावना म्यूजिक प्रालि सोलुसनको युट्युव च्यानलमार्फत सार्वजनिक छ। 

भिडियोमा नायिका आँचल शर्मा र विमल अधिकारीले अभिनय गरेका छन्। भिडियो निर्देशन  काजी श्रेष्ठले गरेका हुन्। 

विमल अधिकारीकै लय(शब्दमा रहेको गीतमा गायिका मेलिना राई र सुकदेव अधिकारीको स्वर अत्यन्तै कर्णप्रिय सुनिएको छ।

यसअघि सुकदेव र मेलिलीनाकै स्वर रहेको ’कल्ले बोलायो’ गीतको  म्युजिक भिडियो सार्वजनिक भएको थियो। उक्त म्युजिक भिडियो निकै चर्चित बन्यो। त्यसकै सफलतापछि ‘के भनौं हजुर’ ल्याइएको निर्माण टिमले जनाएको छ।

 

कमेन्ट लोड गर्नुस