बैतडीमा ज्येष्ठ नागरिकको घरमै स्वास्थ्य सेवा
बैतडीका तीनवटा स्थानीय तहमा ज्येष्ठ नागरिकले घरमै स्वास्थ्य सेवा पाउन थालेपछि खुशी भएका छन्। मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रमअन्तर्गत पाटन, दशरथचन्द र पुर्चौंडी नगरपालिकामा स्वास्थ्यकर्मी घरमै पुगेर ज्येष्ठ नागरिकलाई सेवा प्रदान गरिरहेका स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए।
तीनवटै स्थानीय तहमा एक एक हेल्थ असिष्टेन्ट वा स्टाफ नर्स खटाएर ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा दिने काम भइरहेको उनले बताए। स्वास्थ्यकर्मीले घरघरमा पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिरहेको छन्। उनले भने, “कार्यक्रम सञ्चालन भएका तीनै तहका प्रत्येक वडामा पुगेर स्वास्थ्यकर्मीले सेवा दिइरहेको छ।”
ज्येष्ठ नागरिक स्वास्थ्य संस्थासम्म सेवाका लागि आउन नसक्ने भएकाले उनीहरुलाई घरमै पुगेर सेवा दिने कार्यक्रम थालिएको भट्टले बताए। स्वास्थ्यकर्मीले घरमै पुगेर स्वास्थ्य सेवा दिँदा आफूहरु निकै खुशी भएको ज्येष्ठ नागरिकले बताएका छन्। घरमै आएर रक्तचाप जाँच गर्ने र अरु स्वास्थ्यका बारेमा स्वास्थ्यकर्मीले जानकारी दिँदा आफूहरु निकै खुशी भएको दशरथचन्द नगरपालिका–५ का सुरेश लेखकले बताए। उनले भने, “घरमै औषधि पाउँदा हामी निकै खुशी छौँ।”
गाउँगाउँमा पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने गरेको र घरमै सेवा पाउँदा उनीहरु खुशी भएको स्टाफ नर्स दीपा मौनीले बताए। रासस