कसरी हुन्छ कोरोना भाइरसको परीक्षण ?
विश्वभर सन्त्रास फैलाइरहेको कोरोना भाइरसको परीक्षण कसरी हुन्छ ? भन्ने जिज्ञाशा पनि यतिवेला सबैमा उत्पन्न गराइदिएको छ। कोरोना संक्रमण भए–नभएको परीक्षणबाट मात्र यकिन गर्न सकिन्छ। त्यसका लागि कोरोना टेस्ट किटको माध्यमबाट यसको संक्रमण भए–नभएको हेर्ने गरिन्छ। विश्वका धेरै देशले कोरोना भाइरसको परीक्षणका लागि ‘रियल टाइम पोलिमेरेज चेन रिएक्सन’ (पिसिआर) को प्रयोग गरेका छन्।
भाइरस पत्ता लगाउने पोलिमेरेज चेन रिएक्सन विधि सन् १९८० पत्ता लागेको थियो। आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिको डिएनए पत्ता लगाउनदेखि फलफूलमा भाइरस रहे–नरहेको हेर्नसमेत यो विधि अपनाइन्छ। पिसिआर परीक्षणका लागि प्रिमियर प्राब्स रिएजेन्टको आवश्यकता पर्छ। रिएजेन्ट भनेको रासायनिक प्रतिक्रिया गराउने पदार्थ हो, यसै रियाक्सनको आधारमा परीक्षणको नतिजा सकारात्मक वा नकारात्मक पाइन्छ। परीक्षण सुरु गर्नुअघि भाइरसमा हुने आरएनए जेनेटिक म्याटेरियल डिएनएमा परिवर्तन हुनुपर्छ।
त्यसका लागि एक प्रक्रिया अपनाइएको हुन्छ। कोरोना भाइरसमा हुने जेनेटिक म्याटेरियल आरएनए हो। त्यसैले यसलाई आरएनए भाइरस पनि भनिन्छ। सुरुमा संक्रमणको आशंका गरिएको मानिसको घाँटीबाट स्वाब अर्थात ¥यालको नमुना निकालिन्छ। यसलाई नमूना संकलन पनि भनिन्छ। स्वाब अथवा नमुनालाई उच्चसुरक्षाका साथ परीक्षण ल्याबमा ल्याइन्छ। त्यसपछि नमुनालाई टेस्ट ट्युबमा राखिन्छ। अनि भाइरसको आरएनएलाई डिएनएमा परिवर्तन गरिन्छ।
त्यसका लागि एक किसिमको इन्जाइमको प्रयोग गरिन्छ, यो प्रक्रियालाई रिभर्स ट्रान्सक्रिप्सन भनिन्छ। त्यसपछि, प्रोब्स र प्रिमियर रिएजेन्टलाई ट्युबमा राखिन्छ, जसले डिएनएको कुनै एक भागको खोजी गर्छ। यदि रिएजेन्टबाट डिएनएमा खोजी गरिएको भाग भेटियो भने रिएजेन्टले त्यो भागलाई परिवर्तन गर्दै लगातार वृद्धि गर्छ, त्यसक्रममा त्यहाँ प्रकाश चम्किन्छ। डिएनएको भाग परिवर्तन हुने प्रक्रियालाई ‘जिन तारिगेटङ’ पनि भनिन्छ। परीक्षणकै लागि राखिएको एक किसिमको मेसिनमा प्रकाश कति पटक अथवा कति धेरै चम्कियो भनेर मापन हुन्छ।
यदि त्यहाँ धेरै मात्रामा प्रकाश उत्पन्न भएको छ भने त्यो नतिजा सकारात्मक देखिन्छ अर्थात संक्रमितमा कोरोना भाइरस रहेको पुष्टि हुन्छ। यदि प्रकाश थोरै मात्र उत्पन्न भएको छ भने नतिजा नकारात्मक हुन्छ। अर्थात उक्त नमुना लिइएको व्यक्तिमा कोरोना संक्रमण नभएको पुष्टि हुन्छ। यो सबै प्रक्रिया परीक्षण मेसिनभित्र टेस्ट ट्युबमा राखिएको सानो उपकरणमा सम्पन्न हुन्छ।
कस्ले बनायो सुरुमा टेस्ट किट ?
वर्लिनमा, जर्मन वैज्ञानिक ओल्फर्ट ल्यान्डले सबैभन्दा पहिले टेस्ट किटलाई गत जनवरी ११ मा ताइवान र हङकङस्थित रोच फर्मास्युटिकल्स कम्पनीमा पठाएका थिए। सार्स एवं मेर्सको अनुभव भएका ल्यान्डल यस किटले काम गर्छ वा गर्दैन भन्नेमा ढुक्क भने थिएनन्। तर, किटले काम गर्यो र जनवरी १७ मा उक्त किट बनाउने ढाँचालाई विश्व स्वास्थ्य संगठनले प्रकाशित गरेको थियो। त्यसपछि जनवरीको अन्तसम्म ४० लाख र हाल हप्तामा १४ लाख परीक्षण किट उनको संस्थाले बनाएर बेच्दै आएको छ।
त्यस्तै हङकङका प्रोफेसर डा. लियो पुन लिट म्यानको टिमले पनि परीक्षण किट बनाएर १६ डिसेम्बरमै विश्व स्वास्थ्य संगठनमा पठाएको थियो। पुनको टिमले ४० भन्दा बढी देशमा निःशुल्क रूपमा परीक्षण किट उपलब्ध गराएको छ। त्यस्तै, जनवरी १७ मा अमेरिकी रोग नियन्त्रण केन्द्रले आफ्नो ढाँचा परीक्षण किट बनाएको सार्वजनिक भएको थियो। जनवरी २४ मा चीनको परीक्षण किटको ढाँचा विश्व स्वास्थ्य संठनले प्रकाशित गरेको थियो। परीक्षण किट २४ घन्टामै बनाउन सकिने र ठूलो मात्रामा बनाउन सकिने विज्ञहरू बताउँछन्।
तर, भाइरसको प्रकृति फरक भइदियो भने ती किटले परीक्षण गर्न नसक्ने सम्भावना पनि हुन्छ। जे होस्, कोरोना भाइरसको संक्रमण न्यून गर्न ठूलो मात्रामा परीक्षण हुन आवश्यक छ, त्यसका लागि थुप्रै कम्पनीहरूले परीक्षण किटको विकास गरिरहेका छन्।–एजेन्सी