सेती अस्पतालका सरसफाईकर्मी भन्छन्– संकटमा सेवा गर्न पाउँदा उत्साहित छौँ
धनगढी : धनगढीको मिलनचौकका पुण्य अधिकारीलाई सेती प्रादेशिक अस्पतालमा कार्यालय सहयोगीका रुपमा काम गर्न थालेको लामो समय भईसकेको छ। २०४० सालदेखि कार्यालय सहयोगीको रुपमा काम गर्दै आएका अधिकारीसँग कोरोना भाईरसको महामारीपछि काम गर्नुपर्दाको छुट्टै अनुभव छ।
७ वर्षदेखि क्यान्सरसँग लडिरहेकी श्रीमतीलाई भेटेर औषधी सम्म खुवाउन नपाएको लामो समय भईसकेको छ। सेतीमा कोरोना संक्रमित विरामी भेटिएपछिदेखि नै उहाँ संक्रमणको जोखिमले धनगढीमै अस्पतालले व्यवस्था गरिदिएको ठाउँमा बस्दै आएका छन्। कोरोना संक्रमित अस्पताल भर्ना भएदेखि नै अधिकारीले घर फर्किन पाएका छैनन्। तर यस्तो परस्थितीमा घरपरिवारसँग भेटघाट गर्न नपाउँदा खासै निराश नबनाएका अधिकारी सेवारत डिउटी निर्वाह गर्न पाउँदा खुसी व्यक्त गर्छन्।
‘श्रीमती ७ वर्षदेखि नियमित क्यान्सरको औषधी खाईरहेकी छन्। घरमा अप्ठ्यारो स्थिती छ।’ अधिकारीले भने, ‘सेतीमा २०४० सालदेखि कार्यरत छु। सानै भएपनि सेवा गर्ने मौका पाएको छु। दुःख भएको मान्छेहरु अस्पतालमा आउँछन् उहाँहरको सेवा गर्दा खुसी लाग्छ।’ अस्पतालमा सरसफाईदेखि अन्य सहयोगी काम गर्दै आएका उनलाई कोरोना महामारीको विसम परस्थितीमा समेत सेवा गर्न पाउँदा डिउटी निभाएको भान मात्र भएको छैन्।
आफूले मानवीय धर्म समेत निर्वाह गरिरहेको महसुस पनि उतिकै गरेका छन्। ‘सेवा गर्ने ठाउँमा भएको हुनाले मलाई सेवा गर्न नै धर्म हो भन्ने भाव मनमा आउँछ।’ उनले भने, ‘मलाई भित्रैदेखि सेवाको भावले सधै प्रेरित गरिरहन्छ। जागिर खाईसकेको छु यतिबेला मैले हटेर हैन् डटेर लाग्नुपर्छ।’
धनगढीकै योगेन्द्र महरा पनि कोरोना भाईरसको महामारीपछि निरन्तर काममा खटिएका छन्। सेती अस्पतालको ल्याबमा सरसफाई कर्मचारीका रुपमा काम गर्दै आएका महराले पनि घर परिवारसँग भेटघाट गर्न नपाएको लामो समय भईसकेको छ। दिनभरी कोरोनाका संकास्पद र सम्भावित विरामीको परीक्षण गरिने प्रयोगशालाको सरसफाईमा खटिनुपर्ने भएकाले जोखिम हुने भन्दै अस्पतालले नै व्यवस्थापन गरेको ठाउँमा महरा बस्दै आएका छन्।
विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसका नमूना परीक्षण गरिने ल्याबमा प्रत्यक्ष काम गरिरहेकाले जोखिम बढ्ने मनमा भएपनि आट लिएर काम गरिरहेको महारा बताउँछन्।
‘विगतमा हामी सबै स्टाफहरु एकै ठाउँमा मिलेर काम गर्दा रमाईलो हुन्थ्यो। अहिले चार÷पाँच जना सरहरु पिसिआर मेसिन चलाउँनुहुन्छ। दुईतीन जना सरहरुले नमूना संकलन गर्नुहुन्छ। हामीले भित्रको सरसफाई गछौँ। किर्टाणुबाट बचाउने पहिलो दायित्व हाम्रो हुन्छ। यस्तो बेला हामीलाई पनि जोखिम छ। तैपनि खटिनुपर्ने अवस्था छ।’
उनले भने, ‘डिउटी निभाउन पाउँदा खुसी व्यक्त गरे।’ सेती प्रादेशिक अस्पतालले पनि कोरोना भाईरसको महामारीमा डिउटीमा खटिएका तल्लो स्तरका कर्मचारीको मनोबल बढाउन सक्दो ढाडस दिईरहेको छ। अग्रमोर्चाका चिकित्सकदेखि निम्न दर्जाका कर्मचारीको मनोबल उच्च राख्न अस्पतालले पनि सक्दो प्रयास गरिरहेको मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले बताए।
‘सीमित स्रोत साधनको बाबजुद पनि हामीले सक्दो प्रयास गरिरहेका छौँ। हामीसँग पीपीई कम थियो। तैपनि व्यवस्थापन गरिरहेका छौँ।’ मेसु पाण्डेले भने, ‘हामी पनि सँगसँगै काम गरेर उनीहरुको हौसला बढाईरहेका छौँ। अस्पतालबाट दिन सकिने सुविधाहरु तलब भत्ता, सरकारले बिमाको व्यवस्था पनि गरेको छ।’
सेतीलाई प्रदेश सरकारले कोरोना विशेष अस्पताल तोकेपछि तल्लो तहका कर्मचारीदेखि चिकित्सक सम्मका स्वास्थ्यकर्मी गरी ७४ जनाको टीमले जोखिम मोलेरै निरन्तर काम गरिरहेको छ। उनीहरु कोरोना भाईरस मात्र नभई अस्पतालका अन्य आकस्मिक सेवा समेत निरन्तर दिईरहेका छन्।
यस्तो बेला पनि नियमित काममा खटिएर आम नागरिकको सेवारत स्वास्थ्यकर्मी सहित सबै तहका कर्मचारीमा हाम्रो पनि उच्च सम्मान। सरकारले समेत उनीहरुको मनोबल बढाउने खालका कार्यक्रम सञ्चालन गर्नतर्फ ध्यान दिनुपर्छ।