सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा कोरोनाको जोखिम टर्‍यो भन्न मिल्दैन्, भारतबाट खतरा कायमै

२०७७ वैशाख ८, ०८:१० जनक विष्ट

धनगढी : २३ फागुन यता सुदूरपश्चिमका सीमानाका भएर भारतबाट झण्डै डेढ लाख मानिस फर्किएको सरकारी तथ्याङ्क छ। यो प्रदेशका विभिन्न नाकामा हेल्थ डेस्क स्थापना गरेदेखि लकडाउन जारी भएको ११ चैत सम्म भित्रिएकाहरुको तथ्याङ्क हो। लकडाउन भएपछि पनि सुदूरपश्चिमका सीमानाका भएर धेरै मानिस फर्किएका छन्।

ती मध्ये अधिकांश सुदूरपश्चिमकै भएको सरकारी अधिकारीहरुले बताउँदै आएका छन्। प्रदेशमा हजारौँ मानिस भित्रिएपनि सरकारले अहिले सम्म आठ हजार एक सय ५७ जनाको मात्र थ्रोट स्वाब संकलन गरेको छ। उनीहरु मध्ये पाँच जनामा कोरोना संक्रमण देखिएपनि आठ हजार ८५ को रिर्पोट नेगेटिभ आएको छ भने ५७ जनाको रिर्पोट आउन बाँकी छ।

भारतबाट फर्किएका दुईजनामा मात्र कोरोना भाईरस पोजेटिभ देखिएको छ। ती मध्ये कैलालीको लम्कीचुहा नगरपालिकाका राज विक निको भएर आईतबार सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएका छन्। कञ्चनपुरको वेदकोट नगरपालिकाका पुरुष सहितका चार जना सेतीमै उपचाररत छन्।

सुखद कुरा के छ भने पछिल्लो एक साता यता सुदूरपश्चिममा कोरोनाका विरामी स्थिर छन्। यो कुराले सबैलाई खुसी बनाएको छ। अर्कोतर्फ भारतबाट हजारौँको संख्यामा फर्किएकोमा कतिपयलाई एक महिना भन्दा बढि त झण्डै एक महिना पुगिसकेको छ।  यो अवधीमा कोरोना संक्रमण भएपनि निको भईसकेको हुन सक्ने भन्दै धेरैले उनीहरुबाट जोखिम कम भएको आकलन गर्न थालेका छन्।

तर चिकित्सकहरु भने भारतबाट फर्किएकाहरुबाट खतरा टर्‍यो भन्न सकिने अवस्था नरहेको बताउँछन्। त्यो जोखिम कायमै हुनुका दुईवटा कारण छन्। पहिलो भारतबाट फर्किएका व्यक्तिमा कोरोना संक्रमण थियो भने निको भएपनि अरुमा संक्रमण फैलाएको हुनसक्छ ? दोस्रो अहिले पनि भारतबाट मानिसहरु लुकीछीपी भित्रिरहेका छन् र परीक्षण सबैमा भएको छैन् ?

यसै विषयमा कोरोना भाईरसका संक्रमितको उपचारमा खटिएका सेती प्रादेशिक अस्पतालका फिजिसियन डाक्टर शेरबहादुर कमरको भनाईको सम्पादित अंश:
भारतबाट सुदूरपश्चिम प्रवेश गरेको एक महिना पुगेकाहरुको हकमा करिब–करिब जोखिम टर्यो भन्न मिल्छ। यदी कोरोना भाईरसको संक्रमण थियो भने निको हुने अवधी पुगिसकेकाले उनीहरुका लागि जोखिम टर्यो। तर उनीहरुलाई संक्रमण भएपनि लक्षण नदेखिएको हुनाले सम्पर्कमा आएका अरुलाई सारेको भने हुनसक्छ।

संक्रमित व्यक्तिले लक्षण नदेखाएर पनि अन्यमा रोग सार्न सक्ने सम्भावना अधिक हुन्छ। त्यसैले पूर्ण रुपमा ढुक्क भएर बस्ने स्थिती सिर्जना भईसकेको होईन्। फेरी पनि भारतबाट मान्छेहरु आईरहेको हुनाले उनीहरुलाई क्वारेन्टाईनमा राख्नैपर्छ। पहिले आएकाहरुको हकमा पनि प्रयोग गरेको  र्‍यापिडटेष्टमा निको भएपनि धेरै पछि सम्म संक्रमण देखिने भएकाले त्यो धेरै गर्न सकेमा पहिले संक्रमित थियो की थिएन भन्ने कुरा थाहा हुनसक्छ।

अझ सके सम्म भारतबाट फर्किएका सबैको परीक्षण गर्न सक्यो भने धेरै कुरा जान्न सकिन्छ। उनीहरुको सम्पर्कमा गएका व्यक्तिमाथि पनि निगरानी बढाउनुपर्ने र परीक्षण गर्न सकेमा झनै राम्रो हुन्छ।  पछिल्लो एक हप्तामा सुदूरपश्चिममा संक्रमित नथपिनुलाई लकडाउन र क्वारेन्टाईनले धेरै राम्रो भएको संकेत देखाउँछ।

यदी लुकेर बसेको भएपनि धेरै ठुलो समस्या देखिएको छैन्। एउटा समस्या के भयो भन्दा रोग लागेपनि लक्षणहरु नदेखिने हुन्छ। लक्षण नहुँदा नहुँदै पनि अरुलाई सार्न सक्ने सम्भावना देखियो। त्यसैले भारत तथा विदेशबाट फर्किएका व्यक्तिहरुमाथि निगरानी गर्दै परीक्षणको दायरा बढाउनुपर्छ। उनीहरुको सम्पर्कमा आएका सबैको परीक्षण गर्न सके वास्तविक स्थिती थाहा हुन्छ। 

तर सुदूरपश्चिम प्रदेश सरकारले भने विदेशबाट फर्किएकाको हकमा परीक्षण भईरहेपनि उनीहरको सम्पर्कमा आएका सबैको सम्भव नभएको जनाएको छ। सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले  विदेशबाट फर्केर क्वारेन्टाईनमा बसेकाहरुको परीक्षण भएको बताए।

विदेश फर्किएर पनि गाउँमा लुकेर बसेकाहरुको विवरण संकलनको जिम्मा वडाध्यक्षहरुलाई दिईएकाले खोजी जारी राखिएको कार्कीको भनाई छ। त्यस्ता व्यक्तिको हकमा जिल्ला स्वास्थ्यसँग समन्वय गरेर परीक्षण गरिनेछ।

आरडीटी पोजेटिभ देखिएकाहरुको हकमा पिसीआर नेगेटिभ देखिएपनि उनीहरुको सम्पर्कमा गएकाहरुको परीक्षण गर्न सम्भव भएको कार्कीले बताए।

तर विदेशबाट फर्किएकाहरुको सबैको सम्पर्कमा आएकाहरुको परीक्षण असम्भव भएको उनको भनाई छ। तर उक्त विषयमा छलफल गरेर मात्र भन्न सकिने कार्की बताउँछन्। 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस