सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा रोजगारी गुमेका लाखौँ सुदूरपश्चिमबासी घर फर्किने तयारीमा

२०७७ वैशाख १७, ११:५९ जनक विष्ट

धनगढी : सुदूरपश्चिमबाट वर्षेनी कामको खोजीमा भारत जानेहरुको यकिन विवरण कुनै सरकारी निकायसँग नभएपनि कुल जनसंख्याको करिब ३० प्रतिशत भारतमा रहेको अनुमान गरिदै आएको छ। भारतमा होटल तथा रेष्टुरा, नीजी घर, पसल तथा विभिन्न उद्योगहरुमा आश्रीत सुदूरपश्चिमबासीको संख्या झण्डै नौँ लाखको हाराहारीमा हुने अनुमान गरिदै आएको छ।

तर भारतमा विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसका कारण जारी लकडाउनले गर्दा ज्याला मजदुरी गुमेपछि उनीहरु स्वदेश फर्किने व्यग्र प्रतिक्षामा बसेका छन्। भारतको राजधानी नयाँ दील्लीमा मात्र दुई लाख बढि सुदूरपश्चिमबासीले रोजगारी गुमाएकोमा उनीहरु मध्ये करिब ८० प्रतिशत स्वदेश फर्किने तयारीमा रहेको आकलन गरिएको छ।

सुदूरपश्चिमेली नेपाली समाज भारतका कोषाध्यक्ष महादेव भट्टले भारतसँग जोडिएका सीमा र लकडाउन खुलेमा सुदूरपश्चिममा एकै पटक लाखौ मानिस फर्किने तयारीमा रहेको बताए। उनले दील्लीमा सबैभन्दा बाजुरा जिल्लाका मानिस श्रमिकको रुपमा विभिन्न क्षेत्रमा काम गर्दै आएपनि सुदूरपश्चिमका सबै जिल्लाका गरी करिब दुई लाखको हाराहारीमा रहेको बताए।

उनीहरु मध्ये झण्डै ८० प्रतिशतले रोजगारी गुमाएकाले घर फर्किने तयारी गरेको भट्ट बताउँछन्।  रोजगारी गुमेपछि जारी लकडाउनकैबीच हजारौँ मानिसहरु भने स्वदेश फर्किसकेका छन्। सीमा नाका बन्द भएकै कारण कञ्चनपुर र दार्चुलाका सीमावर्ती क्षेत्रमा स्वदेश फर्किन लागेका दुई हजार बढिलाई भारतीय पक्षसँगको समन्वयमा क्वारेन्टाईनमा राखिएको छ।

अहिले भारतमा रहेकाहरु मध्ये अधिकांशलाई रोजगारदाताले खाने बस्ने प्रबन्ध मिलाईदिएको छ भने कतिपय आफन्त त कतिपय सामूहिक रुपमा बसिरहेका छन्। सुदूरपश्चिमेली नेपाली समाजका कोषाध्यक्ष भट्टले रोजगारी विहिन भएका धेरै जना सामूहिक रुपमा मिलेर बसिरहेको बताए। भारतको राजधानी नयाँ दील्ली मात्र नभई अन्य राज्यमा समेत हजारौँ सुदूरपश्चिमबासी रहेको बताईएको छ।

भारतका सबै प्रदेशका विभिन्न सहरमा रहेकाहरु उनीहरु लकडाउन र सीमा नाका कहिले खुल्छ भन्ने प्रतिक्षामा बसेको सुदूरपश्चिमेली नेपाली समाज भारतका प्रथम उपाध्यक्ष दीपक खड्काले बताए। उनले छन्। सीमा नाका खुल्ने बितिकै ठुलो संख्यामा प्रदेशबासी फर्किने जानकारी दिए।

लकडाउन र सीमा नाका खुल्ने बितिकै रोजगारी गुमाएका हजारौँ सुदूरपश्चिमबासी भारतबाट फर्किने अनुमान गरिएतापनि यकिन तथ्याङक भने कुनै निकाय सँग छैन्। स्थानीय तहहरुले समेत आफ्नो पालिकाबाट भारतमा रोजगारी गर्न गएकाहरुको विवरण संकलन गर्न सकेका छैन्।

यस्तो बेला सीमा नाका खुल्ने बितिकै ठुलो संख्यामा आउनेहरुलाई व्यवस्थापन गर्न नसकेमा कोरोना भाईरसको जोखिम बढ्ने भएकाले पूर्व योजना बनाई स्वास्थ्य परीक्षण, अनिवार्य क्वारेन्टाईन लगायतका काम गर्नुपर्ने सुझाव दिईएको छ। सुदूरपश्चिम सरकारले गठन गरेको प्रदेश संकट व्यवस्थापन केन्द्रले भने भारतबाट फर्किनेहरुको व्यवस्थापनका तथ्याङ्क संकलनको काम भईरहेको दावी गरिएको छ।

केन्द्रका संयोजक रामदत्त पाण्डेले सीमा नाका खुल्ने बितिकै भारतबाट फर्किनेहरुलाई ध्यानमा राखेर सोही अनुसारका तयारी थालिएको बताए। उनले अहिले स्थानीय तहहरुले भारतमा रहेकाहरुको तथ्याङ्क संकलन गर्नेदेखि क्वारेन्टाईन व्यवस्थापनका काम गरिरहेको जनाए। 
  

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस