भारतबाट सुदूरपश्चिम फर्किएका मजदुर भन्छन् –अब विदेश जादैनौँ, स्वदेशमै अवसर खोज्छौँ
धनगढी : भारतमा ज्यालादारी गर्न गएका अछामको तुर्माखाद गाउँपालिका वडा नम्बर १ का टेकबहादुर बुढा झण्डै ३५ दिन भारतको धार्चुलामा क्वारेन्टाईनमा बसेर बीहिबार मात्र घर फर्किन पाएका छन्। बुढालाई स्वदेशमै काम गर्ने इच्छा हुँदाहुँदै पनि अवसर नपाएर भारतमा कहिले ज्याला मजदुरी त कहिले चौकीदारी गर्दै आएको वषौँ बितिसकेको छ।
अछाममा जग्गा जमिन भएपनि बुढा स्वदेशमा अवसर नपाएकै कारण विदेशिनुपर्ने बाध्यता आईलागेको गुनासो गर्छन्। ‘स्वदेशमै काम पाएको भए हामी भारत किन जाने थियौँ।’ उनले भने, ‘आफ्नै देशमा काम गर्न पाएको भए लकडाउन हुँदा पनि दुःख पीडा भोग्नुपर्ने थिएन। आफ्नो देश आफ्नै हुन्छ भन्ने लागेको छ। स्वदेशमै काम गर्न पाएको भए अहिलेको जसरी विचल्लीत हुनुपर्ने अवस्था नआउने विश्वास गरेका बुढासँग विगतमा कृषि व्यवसाय गर्दै आएपनि बजारको समस्याले पलायन हुनुपरेको दुःखेसो छ।
तर कोरोना भाईरसले भने सकभर आफ्नै देशमा काम गर्नुपर्छ भन्ने पाठ सिकाएको छ। विगतमा कृषि व्यवसाय गरेपनि उत्पादित वस्तु बजार सम्म लैजान सडक पूर्वाधारको अभाव भएका कारण समस्या भएको थियो। बारीमा उत्पादीत तरकारी लगायतका बालीको बजारीकरणमा सरकारी स्तरबाट सहयोग मिलेमा व्यवसायीक बन्ने इच्छा बुढाको छ। बुढा जस्तै दार्चुलाका गोकर्ण खडायत पनि भारतमा मजदुरी गर्दै आएका थिए।
कोरोना भाईरसको संक्रमण फैलिएपछि जारी लकडाउनका कारण मजदुरी गुमेपछि घर फर्किदा नेपालमा समेत सीमानाका बन्द भएपछि झण्डै एक महिना महाकाली पारी धार्चुलामा क्वारेन्टाईनमा बिताएर घर फर्किएका खडायत पनि स्वदेशमा रोजगारीका अवसर नपाएकै कारण वषौँदेखि भारतमा ज्याला मजदुरी गर्र्दै आएको बताउँछन्। उनले भने, ‘यतै कुनै काम गर्न पाउने भए हामी किन विदेशिने थियौँ। फेरी पनि अवसर मिल्छ भन्ने विश्वास त छैन् तर स्वदेशमै काम गर्नुपर्छ भन्ने लागेको छ।’
भारतमा ज्यालादारी गर्दै आएका डडेल्धुराको जोगबुढाका ईश्वर धामी पनि झण्डै ३५ दिन क्वारेन्टाईनमा बसेर बीहिबार स्वदेश फर्किएका छन्। आफू जेनतेन फर्किएपनि उतै रोजगारी गर्दै आएका छोरा भने लकडाउनका कारण फर्किन पाएका छैनन्। स्वदेशमा काम गर्ने इच्छा भएपनि अवसर नपाएकै कारण विदेशिनुपर्ने धामीको मात्र नभई उनी जस्तै हजारौँ सुदूरपश्चिमबासीको साझा बाध्यता हो।
स्वदेशमा अझै रोजगारी अवसर नभएका कारण अब कसरी गुजरा चलाउने हो भन्ने चिन्तामा धामी छन्। लकडाउन खुलेपछि पनि नेपालमा काम नपाउने भन्दै विदेशमा नै जानुपर्ने बाध्यात्मक अवस्था कायमै रहन्छ की भन्ने भय कायमै छ। ‘खै अब कसरी परिवारको गुजरा चलाउने होला। के गर्ने सोच्नै सकिएको छैन्। फेरी मजदुरी गर्न उतै जानुपर्ने पो हो की ?’ उनले भने।
कोरोना भाईरसको प्रभावपछि भारतमा रोजगारी गर्दै आएका लाखौँ सुदूरपश्चिमबासीको बेरोजगार भई घर फर्किएका छन् भने उतिकै संख्यामा फर्किने तयारीमा छन्। कोरोनाको प्रभाव कहिले सकिन्छ भन्ने कुरा अनिश्चित भएपनि फेरी अवस्था समान्य भईहाल्दैमा विगतमा झै सहजै अवसर पाउन मुस्किल पर्ने अर्थविदहरुले बताउँदै आएका छन्।
त्यसैले बेरोजागरीका कारण असामान्य स्थिती उत्पन्न हुन नदिन स्थानीय, प्रदेश र संघिय सरकारले रोजगारी गुमेर स्वदेश फर्किएकाहरुलाई लक्षित स्वरोजगारका कार्यक्रम ल्याउनुपर्ने सुझाव दिईएको छ।