धनगढीमा गौरा महोत्सव सुरु
गौरा पर्वको अवसरमा धनगढीमा गौरा महोत्सव सुरु भएको छ । तीन दिने महोत्सवको प्रदेश नम्बर ७ का प्रदेश प्रमुख मोहनराज मल्लले उद्घाटन गर्नुभयो । सुदूरपश्चिमको भाषा संकृतिलाई प्रवधन गर्ने उद्देश्यका साथ गौरा महोत्सव आयोजना गरिएको हो । राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान प्रदेश नम्बर ७ ले आयोजना गरेको गौरा महोत्सव भाद्र १८ गते सम्म सञ्चालन हुने छ । गौरा महोत्सवमा महिला र पुरुषको छुट्टा छुटै डेउडा, बाल डेउडा गायन, एकल प्रस्तुति, गौरा पर्व सम्बन्धिका नाच तथा झाँकीहरु र स्थानीय भेषभुषा झल्किने अन्य नृत्यहरु समेत कार्यक्रममा रहेको आयोजक समितीका संयोजक सुरत रावत डोटेली कान्छाले बताए । गौरा महोत्सवको उद्घाटन सत्रमा प्रदेश नम्बर ७ का प्रदेश सभाका सदस्य डिल्लीराज पन्त, टेकबहादुर रैका, धनगढी उप–महानगरपालिका कार्यवाहक मेयर हिरा सिह पातली लगायत कलाकारहरुको सहभागिता रहेको थियो ।