घरायसी ओखती लेमनग्रास
हाम्रो वातावरण वरपर थुप्रै वनस्पती छन्, जसले औषधीका रुपमा समेत काम गर्छ। तीनै वनस्पती मध्ये लेमनग्रास पनि एक हो। लेमनग्रासलाई पेयको रुपमा प्रयोग गर्न सकिन्छ। यसको जुस पिउँदा जिब्रो नरसाएपनी स्वास्थ्यलाई भने फाइदाजनक हुन्छ। सानोतिनो शारीरिक समस्याको निदान गर्न मात्र होइन, शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउन पनि लेमनग्रास नियमित पिउने गर्नुपर्छ।
लेमनग्रासमा के के पाइन्छ ?
लेमनग्रासमा पाईने एन्टीसेप्टिक गुणले छालालाई स्वस्थ बनाई राख्न मद्दत गर्छ। यो भिटामिन ए, बी, सी र फोलेटको लागि राम्रो स्रोत हो। यसमा पाइने पोटेसियम, क्याल्सियम, म्याग्नेसियम, आइरन शरीरलाई स्वस्थ रही कार्यसम्पादन गर्नको लागि आवश्यक हुन्छ।
यसमा पाइने एन्टीअक्सिडेन्ट (फिनोलिक यौगिक)ले शरीरमा हुने विभिन्न रोगहरुबाट बच्न औषधिको रुपमा काम गर्छ। लेमनग्रासको मुख्य तत्व लेमोनल वा सिट्रल हो। जसमा एन्टीफंगल र एन्टी माइक्रोबियल गुण पाइन्छ । लेमग्रास स्वास्थ्यको लागि धेरै नै उपयोगी हुन्छ।
लेमनग्रासको सेवन गर्दा हुने फाइदा
१. पेटको समस्या हटाउँछ
एक अध्ययनका अनुसार लेमनग्रासान एन्टी माइक्रोबियल र एन्टी ब्याक्टेरियल गुण हुन्छ जसले पेटमा हुने इन्फेक्सनबाट लड्नमा मद्धत गर्छ। साथै यसले पाचन प्रणालीलाई सुधार्न, ग्यास्टोइन्टेस्टनल डिसअर्डर जस्ता अल्सरलाई रोकथाममा पनि मद्धत गर्छ। लेमनग्रासको सेबनले कब्जियतको समस्याबाट पनि छुटकारा पाउन सकिन्छ ।
२. प्रतिरोधी प्रणाली बलियो बनाउँछ
लेमनग्रासले पाचन, श्वास र स्नायूप्रणालीलाई ठिक राख्न मद्धत गर्छ। यसले खानाबाट शरीरको लागि आवश्यक पोषक तत्व अवशोषित गर्न मद्धत गर्छ जसले हाम्रो रोग प्रतिरोधी प्रणाली मजबुत हुन्छ।
३. कोलेस्टेरोल कम गर्छ
लेमनग्रासमा एन्टीहाइपर लिपिडोमिक र एन्टी हाइपर कोलेस्ट्रोस्ट्रोलेमल गुण हुन्छ जसले कोलेस्टेरोलको स्तरलाई स्वस्थ राख्न मद्धत गर्छ। एक अध्ययनका अनुसार दैनिक लेमनग्रासको सेवन गर्नाले ट्राइग्लिसराइड्सको स्तर ठिक हुन्छ र शरीरबाट एलडिएल कोलेस्टेरोल कम गर्न मद्धत पुग्छ।
४. शरीरबाट विषाक्त पदार्थ निकाल्छ
लेमनग्रासले शरीरमा जम्मा भएका हानीकारक विषाक्त पदार्थ निकाल्नमा मद्धत गर्छ। शरीरबाट विषाक्त पदार्थ निस्किएपछि शरीरको अंगले राम्रोसँग काम गर्छ। यसले शरीरमा युरिक एसिडको स्तर कम गर्न मद्धत गर्छ। लेमनग्रासमा पाइने डाइयुरेटिक गुणको कारण धेरैपटक पिसाब लाग्छ र पिसाबको माध्यमबाट विषाक्त पदार्थ बाहिर निस्कन्छ। यसले तपाईंको पाचन स्वास्थ्य पनि ठिक हुन्छ।
५. छालाको हेरचाह
लेमनग्रासमा पाइने एन्टीसेप्टिक र एस्ट्रिन्जन्ट गुणको कारण यो छालाको लागि धेरै फाइदाकारी हुन्छ । यसले चिल्लो छालाको लागि धेरै राम्रो क्लिन्जरको रुपमा काम गर्छ र छालाबाट दाग धब्बा हटाउन मद्दत गर्छ ।
६. शरीरको दुर्गन्ध हटाउँछ
डियोड्रेन्ट बनाउन लेमनग्रासको प्रयोग गरिन्छ । यसमा पाइने एन्टीब्याक्टेरियलले शरीरबाट आउने दुर्गन्धलाई टाढा बनाउन मद्धत गर्छ। साथै फंगल र ब्याक्टेरियल इन्फेक्सनबाट रोकथाम गर्छ।