सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा नगरपालिकाको ‘नक्कली’ कर्मचारी, परिचयपत्र बोक्ने युवतीलाई कारबाही भयो त ?

२०७८ असोज १५, ०४:३६ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा एक युवतीको नामबाट नगरपालिकाको नक्कली परिचयपत्र बनाइएको पाइएको छ। भीमदत्त नगरपालिकाको छाप र दस्तखतको दुरुपयोग गरेर सोही नगरपालिकाकै गायत्री भट्टको नामबाट उक्त परिचयपत्र बनाइएको पाइएको हो।

केहीदिन अघि सामाजिक परिचालिकाको नक्कली परिचयपत्र सामाजिक सञ्जालमा भाइरल बनेपछि नगरपालिकाले छानबिन सुरु गरेको थियो। नगरपालिकाका प्रशासकीय अधिकृत हरिसिंह धामीका अनुसार छानविनका लागि प्रहरीसमक्ष निवेदन दिइएको छ। ‘परिचयपत्रमा उल्लेख भएको नामको व्यक्ति हाम्रो कार्यालयमा काम नगर्ने पाइएको छ। हामीले थप कारबाहीका लागि प्रहरीलाई भनेका छौ’ उनले भने। ती परिचयपत्र बोक्ने गायत्रीले हालसम्म परिचयपत्रको दुरुपयोग गरेको नपाइएको प्रशासकीय अधिकृत धामीले बताए। 

उता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानले भने हालसम्म त्यस्तो प्रकारको निवेदन नआएको बताए। ‘मेरो जानकारीमा त्यस्तो कुनै निवेदन आएको छैन’ उनले भने। प्रहरीलाई जानकारी नभएपछि ती युवतीलाई हालसम्म कुनै कारबाही भएको छैन। 

यायत्री भट्टले भने आफ्नो नाममा अरु कसैले परिचयपत्र बनाएर दुरुपयोग गरेको दाबी गर्दै आएकी छिन्।  तर उक्त परिचयपत्र उनकै नाममा रहेको फेसबुक ‘स्टोरी’मा अपलोड भएको थियो।

कमेन्ट लोड गर्नुस